१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै

फाइल तस्बिर

राष्ट्रिय सभाको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ। आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ।

राष्ट्रिय सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन्। फागुन २१ गतेदेखि रिक्त रहेको अध्यक्ष पदका लागि सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दिएका छन्।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतवार नै संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको थियो।

निर्वाचन कार्यक्रमबमोजिम आज बस्ने राष्ट्रिय सभाको बैठकमा दर्ताक्रम अनुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै उम्मेदवारको प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। त्यसपछि अध्यक्षता गर्नेले सबै उम्मेदवारको प्रस्ताव क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन्।

प्रस्तावमाथि निर्णय सदस्यको दस्तखतसहित मतविभाजनबाट गरिनेछ। निर्णयार्थ प्रस्तुत गर्दा जुन प्रस्ताव राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन।

५९ सदस्यीय राष्ट्रिय सभामा एकजना मनोनित गर्न बाँकी छ। जसबाट ५८ सदस्यको बहुमत अर्थात् ३० जनाको समर्थन भए अध्यक्षमा निर्वाचित भएको मानिने छ।

प्रकाशित: २९ फाल्गुन २०८० ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App