१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी सरकार: दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमाले र माओवादीको आग्रह

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएका छन्।

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दल र नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको छुट्टाछुट्टै बसेको बैठकले गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भइसकेको भन्दै दूरगामी असर गर्ने कुनैपनि निर्णय नगर्न आग्रह गरेका हुन्।

दुवै दलको बैठकको निर्णयमा भनिएको छ, ‘गण्डकी सरकार कामचलाउ सरकारमा परिणत भएको अवस्थामा दीर्घकालीन असर गर्ने खालका कुनैपनि निर्णय नगर्न साथै त्यस्ता कुनैपनि कामकारबाही अगाडि नबढाउन सरकारलाई सचेत गराइन्छ।’

दुवै दलले केन्द्रमा गठबन्धन बदलिँदा त्यसको असर गण्डकी प्रदेशको सत्ता सहकार्यमा पनि परेको निष्कर्ष निकालेको छ। त्यसैले नयाँ सरकार निर्माणको प्रक्रिया सहज र स्वाभाविक राजनीतिक निकासका लागि वातावरण बनाउन पनि उनीहरुको आग्रह छ।

एमाले संसदीय दलको बैठकले नयाँ सरकार निर्माणसहित अन्य विषयमा सत्ता गठबन्धनका अन्य दलसँग छलफल गर्ने जिम्मा दलका नेता खगराज अधिकारीलाई दिएको नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए।

‘सत्ता गठबन्धनका अन्य दलहरुसँग संवाद, समन्वय र सहकार्यबारे छलफल गर्ने जिम्मा दलको नेतालाई जिम्मा दिने निर्णय भएको छ,’ उनले भने।

नेकपा माओवादी केन्द्रले पनि सत्ता गठबन्धनका लागि आवश्यक संवाद र समन्वय गर्न संसदीय दलका नेता हरिबहादुर चुमानलाई जिम्मा दिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिइन।

उनले भनिन्, ‘नयाँ सरकार निर्माण र त्यसको नेतृत्व र पहलकदमी लिनका लागि आवश्यक संवाद र समन्वयका लागि दलको नेतालाई जिम्मा दिने निर्णय भएको छ।’

प्रकाशित: २८ फाल्गुन २०८० १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App