२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीका नयाँ सत्ता–सारथि : अधिकांश पुरानै, आलोचित, अटाएनन् दलित

शपथग्रहणपछि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेसँग बुधबार सामूहिक तस्बिर खिचाउँदै नयाँ मन्त्रिपरिषद्। तस्बिर सौजन्यः दिनेश भण्डारी

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १४औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। ११ महिनाअघि बनेको नेपाली कांग्रेससहितका दलको गठबन्धन तोड्दै दाहालले सोमबार बनाएकोे सत्ता समीकरणअनुसार बुधबार १९ जना नयाँ सारथि छानेका हुन्।

दाहालले सोमबार तीनजनालाई बिनाविभागीय मन्त्री बनाएका थिए। मन्त्रिपरिषद् पुनर्गठनसँगै २० सदस्यीय भएको छ। मन्त्रिपरिषदमा प्रधानमन्त्रीको दल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) सहभागी भएका छन्। १४ महिनामा तेस्रो गठबन्धन गरेका प्रधानमन्त्री दाहालले तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन्।

निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित फेरि सरकारमा सहभागी भएका छन्। सत्ता गठबन्धनको प्रमुख घटक एमाले पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको छ। प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमाले नेता रघुवीर महासेठको नेतृत्वमा सरकारमा गएको छ। महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपा पनि उपप्रधानमन्त्रीसहित पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी भएको छ। विगतमा पनि लामिछानेले दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

दाहाल नेतृत्वको सरकारमा एमालेबाट महासेठसहित आठजना मन्त्री बनेका छन्। २०७९ पुस १० गतेको सहमतिअनुसार तत्कालीन मन्त्रिपरिषद्मा सहभागी नेतालाई नै एमालेले फेरि सरकारमा पठाएको हो। यसअघि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले ८ मन्त्रालय लिएर सरकारमा सहभागी भएको थियो। तर ११ महिनापछि एमाले आठवटा मन्त्रालय नै लिएर महासेठको नेतृत्वमा सरकारमा गएको छ।

यसअघि दाहाल नेतृत्वको सरकारमा मन्त्री भएका पौडेल र विमला राई पौडेल अहिले सरकारमा अटेनन्। एमालेबाट राजेन्द्रकुमार राई खानेपानी, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति हरि उप्रेती रक्षा र ज्वालाकुमारी साह कृषि मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रबाट पाँचजना मन्त्री भएका छन्। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

मन्त्रिपरिषद् हेरफेर गर्न कांग्रेस तयार नभएको भन्दै गठबन्धन नै परिवर्तन गर्नुपरेको बताएका प्रधानमन्त्री दाहालले पुरानै तीनजनालाई मन्त्री बनाएका छन्। निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतलाई गठबन्धन टुट्नुको प्रमुख कारकका रूपमा देखाएका दाहालले उक्त मन्त्रालयको जिम्मेवारी पुनलाई दिएका हुन्। कांग्रेससहितको गठबन्धन माओवादीबाट पर्यटनमन्त्री बनेका सुदन किराँती भने पुनर्गठित मन्त्रिपरिषद्मा परेनन्।

त्यस्तै सत्ता साझेदार रास्वपाबाट लामिछाने उपप्रधानसहित गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डिपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।

यसैगरी नेकपा एस दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको छ। नेकपा एसबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा सहरी विकासमन्त्री भएका छन्। एमालेसँग विभाजित भएर बनेको नेकपा एसलाई सरकारमा समेट्न केपी शर्मा ओली अनिच्छुक भए पनि सत्ता टिकाउन दाहालको जोडबलमा सझेदार बनाइएको हो।

तर सोमबार आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा) भने सरकारमा सहभागी भएको छैन। माओवादी, एमाले रास्वपा र जसपाका अध्यक्षले आठबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।। आन्तरिक विवाद र मधेस प्रदेशको मुख्यमन्त्रीमा कुरा अल्झदा जसपा सरकारमा सहभागी नभएको हो। विस्तारित मन्त्रिपरिषद्मा चारजना महिला छन्।

आमनिर्वाचनपछि २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले त्यसको भोलिपल्ट मन्त्रिपरिषद् गठन गरेका थिए। पटकपटक गरेर माघमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका दाहालले फागुन १० गते एमाले, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको गठबन्धन तोडेर कांग्रेससँग हात मिलाएका थिए। त्यसपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका थिए। नागरिकता विवादमा रवि लामिछानेको प्रतिनिधिसभा सदस्य नै गुमेपछि रास्वपा माघ १३ गते सरकारबाट अलग भइसकेको थियो।

२०७९ चैत १७ गते कांग्रेस, जसपा, नेकपा एस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका दललाई लिएर दाहालले मन्त्रिपरिषद् विस्तार गरेका थिए। सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुग्दानपुग्दै दाहालले मन्त्री हेरफेर गर्ने बताएका थिए। तर दाहालले सोमबार तेस्रो पटक गठबन्धन नै परिवर्तन गरेर। वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफंैले राखेका छन्। सरकारमा सहभागी हुने अन्य दललाई ती मन्त्रालय दिइनेछ।

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूले बुधबार साँझ नै राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। १४ महिनामा दुई पटक पुस २६ र चैत ६ गते विश्वासको मत लिएका दाहालले अब फेरि एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

प्रधानमन्त्री दाहालले पूर्वसहमतिविपरीत गठबन्धन तोडेपछि नेपाली कांग्रेस विपक्षमा पुगेको छ। उसले अघिल्लो गठबन्धनमा रहेका दलहरूलाई आफ्नो साथमा राख्ने प्रयाससहित छलफल अघि बढाएको छ। सोही अनुसार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रमेश चौधरीसँग सभापति देउवाले छलफल गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८० ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App