३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रालयको कामलाई परिणाममुखी बनाउन खानेपानीमन्त्री राईको निर्देशन

नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्नेगरी कार्यसम्पादन गर्न पनि निर्देशन दिए।

उनले भने, ‘मेरोतर्फबाट धेरै भनिरहनुपर्ने जरुरी ठान्दिन। तपाईंहरूसँग लामो अनुभव र विज्ञता छ। जुन ढङ्गले काम गरिरहनुभएको छ, यो भन्दा गतिदिने गरी काम गरौँ, खानेपानीको हाहाकार छ, जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ।’

उक्त मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयको गतिविधिबारे मन्त्री राईलाई अवगत गराएका थिए।

मन्त्री राईले पदबहालीपछि पहिलो निर्णयका रुपमा धेरै जनसङ्ख्या भएका सहरमा नदीबाट पाइपको सहायताले पानी तानेर वितरण गर्नका लागि सम्भाव्यता अध्ययनको लागि खानेपानी विभागले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सरोकारवालासँगको कार्यशाला गर्नेसम्बन्धी फाइलमा हस्ताक्षर गरे।

मन्त्री राई यसअघि छोटो समय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री बनेका थिए।

प्रकाशित: २३ फाल्गुन २०८० २३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App