४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१४ महिनामै १३ पटक मन्त्रिमण्डल पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्।

२०७९ पुस १० मा दाहाल प्रधानमन्त्रीका रूपमा नियुक्त भएका थिए। त्यसको भोलिपल्ट २०७९ पुस ११ मा उनले पहिलो मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिमण्डल विस्तार गरेका छन्।

यसैगरी उनले २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २८ मा मन्त्रिमण्डल विस्तार गरेका छन्। दाहाललाई सुरुमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको थियो।

यी दललाई सहभागी बनाएर दाहालले २०७९ पुस ११ मा मन्त्रिमण्डल बनाए। त्यसको एक महिनापछि रास्वपा सरकारबाट बाहिरियो। २०७९ फागुन १३ मा राप्रपा पनि सरकारबाट बाहिरियो। त्यसको दुई दिनपछि फागुन १५ मा एमाले सरकारबाट बाहिरियो। २०७९ चैत १७ मा गरिएको पुनर्गठनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी भए।

एक वर्षको कार्यकालमा दाहालले दुई पटक विश्वासको मत लिए। २०७९ पुस २६ मा लिएको विश्वासको मतमा नेपाली कांग्रेस, एमाले, रास्वपा, जसपा, लोसपा, जनमतलगायतका सबै दलले विश्वासको मत दिए।

त्यतिबेला जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले मात्र सरकारको विपक्षमा मत दिएका थिए। दाहालले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई एमाले र राप्रपाले विश्वासको मत दिएका थिएनन्।

सोमबार दाहालले गरको मन्त्रिमण्डल पुनर्गठनमा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सहभागी भएका छन् भने नेपाली कांग्रेस, नेकपा (एस) लगायतका दल सरकारबाट बाहिरिएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८० ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App