१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

‘हजारौँलाई शहीद घोषणा गरियाे, तपाईँहरुलाई धन्यवाद प्रचण्ड भन्न के ले रोक्छ ?’

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदको सपना पूरा गर्न क्रान्तिकारी शक्तिहरू एक ठाउँमा आउनैपर्ने बताएका छन्।

एमालेसँगको नयाँ सत्तासमिकरण गरेलगत्तै सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देश र जनताको हितका लागि भएपनि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका हुन्।

सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उनकाे भनाइ थियाे।

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउदो नदी भएको उल्लेख गर्दै उनले भने, ‘माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन। नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी।’

उनले सबै क्रान्तिकारी शक्तिलाई एकतावद्ध हुन पनि आह्वान गरे। शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरु एकतावद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो।

उनले भने, ‘हामी सबैले आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा हुने आवश्यकता छ। खिइँदै, सक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने ? यो हुँदैन कमरेड। यस्तो बुद्धिले हुँदैन। यो नहुने बुद्धितिर नलागौं।’

उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्रीले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रशंसा गर्न कन्जुस्याइँ गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुष्टि जनाए।

‘प्रचण्डकै नेतृत्वमा हजारौँलाई राष्ट्रिय शहीद घोषणा गरियो। धन्यवाद प्रचण्ड भन्न तपाईँहरूलाई के ले रोक्छ ? जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस भनेर देशले मनाउने काम भयो। धन्यवाद प्रचण्ड भन्न तपाईँलाई के ले रोक्छ ? अहिले पनि छुटेको शहीदहरूको बारेमा अझै हामी राष्ट्रिय शहीद घोषणा गर्दैछौं। हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिष्ट एकताको पहल पनि गर्दैछाैँ।’ उनले भने।

प्रधानमन्त्री दाहालले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरेका छन्। ‘नयाँ उथलपुथल भएको दिन पनि बन्यो। यो ठूलो कुरा हो’, प्रधानमन्त्रीले भने।  

प्रकाशित: २१ फाल्गुन २०८० १६:२२ सोमबार