१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

माधवलक्षित ओलीको टिप्पणी: प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन्।

बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले माधव नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरुले ताली बजाएकोमा आफूलाई अचम्म लागेको पनि बताए।

‘संसद्मा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? संविधान, कानून कता छ, संसद्मा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था विरोधी अराजक गतिविधि बढिरहेको छ’ उनले भने।

त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउन दाबी समेत गरे।

‘यस देशको भविष्य कसैले पनि अन्धकार बनाउन सक्नेछैन। किनभने यस देशमा नेकपा एमाले छ। नेकपा एमाले अरु पार्टीजस्तै पार्टीका लागि पार्टी, चुनावदेखि चुनावसम्मका लागि पार्टी होइन। नेपाली जनतालाई सुखी बनाउने सङ्कल्प बोकेर हिँडेको यो पार्टी। यो पार्टी पनि कसैले समाप्त पार्न सक्दैन।’ उनले भने।

अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरुको कुनैपनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको बताए।

उनले वर्तमान सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोप समेत लगाए।

प्रकाशित: १६ फाल्गुन २०८० १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App