१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मनमुटाव

मंगलबार करिब सवा १ बजेतिर नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसैन शेष नगरको कार्यालयमा पुगे। उनले अधैर्य र मर्यादाविपरीत हर्कत प्रस्तुत गरे। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेर चर्को आवाजमा कर्मचारीप्रतिको असन्तुष्टि पोख्दै उनी कार्यकक्ष बाहिर पुगे। उनको आवेगलाई एकजनाले भिडियोमा कैद गरिरहेका थिए। क्यामेरा देखेर उनी आदर्श झल्काउन खोज्दै थिए। तर, अझै उभद्रो शैलीमा।

कमर्चारीले जनताको काममा ढिलासुस्ती गर्ने गरेको र समयमै कर्मचारी कार्यालयमा नआउने गरेको आक्रोश उनको थियो। उनको आक्रोश आम सर्वसाधारणले खेप्नु परेकै आक्रोश हो। नगरमा आउने अधिकांश सेवाग्राहीको गुनासो पनि यही हुन्छ। तर, सार्वजनिक ओहदामा रहेका वडाध्यक्ष शेषको शैली र प्रस्तुतिकरण भने गैरजिम्मेवारपूर्ण देखिन्थ्यो।

उनको आक्रोशपूर्ण गुनासो सही हुँदाहुँदै पनि उनले देखाएको व्यवहारलाई कर्मचारीले चित्त दुखाई मान्दै नगरको कामकाज नै प्रभावित पारे।

उनीहरुले वडाध्यक्ष शेषलाई कारबाही नहुँदासम्म कार्यालयको कामकाज प्रभावित पारे। तर, यसलाई नगर प्रमुख प्रशान्त विष्टले मत्थर पार्न सहजीकरण गरे। उनले प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्कासहित कर्मचारीसँग छलफल गरे। उक्त बैठकले कार्यालयमा आएर उभद्रो गर्ने वडाध्यक्षलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए। उक्त निर्णयपछि कामकाज प्रभावित पारेका कर्मचारीहरु पुनः कामका फर्किए।

कर्तव्यनिष्ठ भएर काम गर्दा पनि कर्मचारीलाई दबाब दिने र विभिन्न आरोप लगाउने काम सह्य नभएको कर्मचारीहरुको भनाइ छ। जनप्रतिनिधिले यसरी आवेगमा आएर सबै कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दैनन् भनेर आक्षेप लगाउनभन्दा कुटनीतिक ढंगले कार्यपालिका बैठक वा मेयरसँग छलफल गरेको भए राम्रो हुने नगरमा आएका एकजना सेवाग्राहीले भने। उनले वडाध्यक्षले धैर्यता गुमाउनभन्दा शालीन र भद्र ढंगले जिम्मेवारी निवार्ह गर्नुपर्ने उनले सुझाव दिए।  

यता वडाअध्यक्ष शेषले भने कर्मचारीले काम गर्न आनाकानी गरेको र कार्यालय समयमा कर्मचारी नभेटिने भएपछि आक्रोशित भएको बताएका छन्। ‘पटकपटक कार्यालयमा जाँदा कर्मचारी भेटिँदैनन्। योजनाका लागि इन्जिनियरले अहिलेसम्म हस्ताक्षर गरेका छैनन्,’ उनले भने, ‘उनको हस्ताक्षर नहुँदासम्म काम अगाडि बढ्दैन। भेट्न कार्यालयमा पुग्दा कहिले कहाँ त कहिले कहाँ हुने। भेटै नहुने। यस्तो हिसाबले कसरी काम हुन्छ।’ ‘कर्मचारी र जनप्रतिनिधिले गर्ने काम जनताकै होइन,’ उनले प्रश्न गर्दै भने, ‘अहिले काम नगर्ने हो भने समयमै योजना पूरा हुँदैनन्। पूरा नभए वडामा आएको बजेट फिर्ता जान्छ। यसको जिम्मेवारी को?’ कर्मचारीकै कारण समयमै काम नहुने र बजेट पनि खर्च हुन नसक्ने अवस्था आयोभन्दा मलाई सजाय हुन्छ भने आफू भोग्न तयार रहेको उनको भनाइ छ। कर्मचारीहरुले आफूप्रति लागेको आरोप खण्डन गर्नुको साटो कर्मचारी–जनप्रतिनिधिबीचको सम्बन्धमा दरार आउने गरी कारबाहीका लागि सिफारिस गर्नु पर्ने अवस्था पनि हतारको हुने स्थानीयको भनाइ छ।

मंगलबार करिब दुई घण्टा कामकाज प्रभावित भयो र आज पनि दिनभरि कामकाज प्रभावित हुने कर्मचारीहरुले बताएका छन्। जनप्रतिनिधि र कर्मचारीको मनमुटावका कारण सेवाग्राहीको कामकाजमा असहजता उत्पन्न भएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App