७४ औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।
विराटनगरमा आयोजित सम्मान कार्यक्रममा १४ जिल्लामा उत्कृष्ट सेवा पुर्याएका स्वास्थ्य स्वयंसेविकालाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जुत्ता लगाइदिएर सम्मान गरे।
अन्य सम्मान कार्यक्रमभन्दा फरक तवरबाट कार्यक्रम आयोजना गरिएको थियो। अधिकांश कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरूलाई मञ्चमा राख्ने चलन छ। सम्मानित व्यक्तिहरू सम्मान पत्र प्राप्त गरेपछि मात्रै मञ्च रहन्छन्।
तर, यस पटक यहाँ आयोजित सम्मान कार्यक्रम फरक देखियो। कार्यक्रम सञ्चालकले सम्मानित हुने स्वास्थ्य स्वयंसेविकाको नाम उच्चारण गर्दै मञ्चमा आसन ग्रहण गर्न बोलाउँदा उनीहरु एकछिन अलमलमा परे।
दर्शक दीर्घामा बसेका कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रीलगायतले माथि मञ्चमा गएर बस्न आग्रह गरेपछि उनीहरुले गएका थिए। प्रमुख अतिथि, अतिथिहरु सबै मञ्चदेखि तल दर्शक दीर्घाको पहिलो लाइनमा बसे।
महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाले रातदिन नभनी सधैँ सेवा गरेकाले सम्मान गरेको बताउँदै, मुख्यमन्त्री केदार कार्कीले भने, ‘उहाँहरुले कामभन्दा पनि सेवा प्रदान गर्दै आउनु भएको छ। घर–घरमा गएर दिनरात नभनी, आफ्नो घरलाई भन्दा पनि बिरामीहरुको सेवा गर्न सधैँ तत्पर रहँदै उहाँहरुले गरेको कार्यबाट म गौरवान्वित भएको छु। आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको छ।’
प्रदेश सरकारले तपाईंहरुलाई पैसा दिएको नभई कामको सम्मान मात्रै गरेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘यसलाई नगदमा तुलना नगर्नुहोस्। सम्मान नगदमा नभएर मनबाट भएको छ। जहाँ नगदमा सम्मान गरिन्छ, त्यहाँ अपमान हुन्छ। हरेकको खातामा ५ हजार रुपैयाँ जाने गरी प्रोत्साहन भत्ता पठाएका छौं।’
१४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मुख्यमन्त्री कार्कीले उनीहरूको खुट्टामा आफैँले जुत्ता लगाइदिएर सम्मान गरे। उनीहरूलाई चाँदीको सिक्का, ब्याग, टर्च र नगद १५ हजार रुपैयाँका साथै सम्मान पत्र प्रदान गरिएको थियो।
ताप्लेजुङकी पम्फा राई, मोरङकी सोनीकुमारी चौधरी, झापाकी दयावती राजवंशी, सुनसरीकी तिलमाया खड्का, उदयपुरकी दिलमाया मगर, ओखलढुंगाकी निरकुमारी राणा, संखुवासभाकी छिरिजम्बा भोटे, खोटाङकी पुण्यकुमारी पौडेल, पाँचथरकी यशोदा ढकाल, तेह्रथुमकी गोमा भट्टराई, भोजपुरकी सीता तामाङ, इलामकी ईश्वरा निरौला, सोलुखुम्बुकी ल्हेमी शेर्पा र धनकुटाकी खड्ककुमारी विश्वकर्मा सम्मानित भए।
कोशी प्रदेशमा ८ हजार ७ सय ५१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छन्।
प्रकाशित: ७ फाल्गुन २०८० १५:५९ सोमबार