४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीपरिषद् बैठकमा रक्षामन्त्री खड्का र गृहमन्त्री श्रेष्ठबीच भनाभन

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच ‘बालकुमारी घटनाको छानबिन प्रतिवेदन’ का विषयमा भनाभन भएको छ।

आइतबार बेलुका बसेको मन्त्रीपरिषद् बैठकमा दुई मन्त्रीबीच भनाभन भएको हो। रक्षामन्त्री खड्काले गृहमन्त्री श्रेष्ठसँग बालकुमारी घटनाको प्रतिवेदन सबै मन्त्रीहरूले हेर्न पाउनुपर्छ भन्नेपछि दुई मन्त्रीबीच भनाभन सुरु भएको मन्त्रीपरिषद् स्रोतले नागरिकन्यूजलाई जानकारी दिएको छ।

‘रक्षामन्त्रीले हामी सबैले प्रतिवेदन पढ्न पाउनुपर्छ भन्नुभयो, गृहमन्त्रीले मैले प्रधानमन्त्रीलाई बुझाइसकेको छु अरू सबैले पढ्नु पर्दै भन्नुभयो, त्यसपछि उहाँहरुबीच भनाभन भयो’, मन्त्रीपरिषद् श्रोतले भन्यो।

स्रोतका अनुसार ‘मन्त्री खड्काले यस्तो घटना सबैलाई पर्नसक्छ, त्यसले सबैलाई जानकारी हुनुपर्छ’ भन्दै प्रतिवेदन पढ्न पाउनुपर्ने माग राख्नुभएको थियो। तर गृहमन्त्री पर्दैन भनेर टारिरहनुभयो।’

बालकुमारी घटनाबारे सत्य तथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गत शुक्रवार  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्य तथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए।

प्रतिवेदनमा, घटना हुनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। त्यही निष्कर्षका आधारमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका विपक्षी दलहरूले आइतबार प्रतिनिधिसभामै मन्त्री ज्वालालाई तत्काल बरखास्त गर्नुपर्ने माग राखेका छन्।

पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो।

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार (मन्त्रिपरिषद्) ले पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो।

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भटाराइ सदस्य रहेको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्य मानिस सहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ।

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुदहरूको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवम् प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसिटिभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसिटिभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

घटनाको जाँचबुझका क्रममा सहयोग गर्ने सबैमा आयोगले धन्यवाद दिएको थियो।

प्रकाशित: ७ फाल्गुन २०८० १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App