१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी नेताहरुलाई मैनालीको चेतावनी: सहिदहरूको भागबन्डा नगर्नुस्

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका सहिद, बेपत्ता परिवार र घाइतेहरूको भागबन्डाको राजनीति नगर्न सबै धाराका माओवादी नेताहरूसँग आग्रह गरेका छन्।

आइतबार नेकपा निकट विद्यार्थी सङ्गठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष मैनालीले सबै धाराका माओवादी मिलेर उपलब्धिको रक्षा गनुपर्नेमा जोड दिए।

‘जनयुद्धका सहिद, बेपत्ता परिवार र घाइतेको भागबन्डा राजनीति नगरौँ । ती सबै माओवादीका साँझा सम्पत्ति हुन्। सबै मिलेर जनयुद्धका उपलब्धिको रक्षा गर्ने दायित्व हामी सबैको हो’, मैनालीले भने, ‘ठूला नेताहरूबिच के कुरामा मनमुटाब छ, तपाईंहरु नै मिलाउनुस्। हाम्रो आग्रह छ–सहिद, बेपत्ता परिवार र घाइतेलाई बाँडेर उहाँहरुको सपनामाथि खेलबाड नगर्नुस्।’

उपाध्यक्ष मैनालीले यो वा त्यो वहानामा सबै धाराका माओवादी नेता–कार्यकर्तामाथि मुद्दा मामिला गर्ने प्रपञ्च भएको भन्दै सबै मिलेर त्यसको प्रतिरोध गर्नुपर्ने बताए। उनले माओवादी नेता–कार्यकर्ताकाका मुद्दामा चासो राख्ने न्यायलयले तत्कालीन राज्य पक्षबाट भएका गम्भीर मानवअधिकार विरोधी घटनालाई नजरअन्दाज गरेको देखिन थालेको बताए। ‘न्यायलयका निर्णयमाथि प्रश्न उठाउन खोजिएको होइन, तर हाम्रो मनमा प्रश्न छ–माओवादीलाई अपराधीकरा गर्न खोज्नेहरूले राज्य पक्षका अपराधमा किन मुख खोल्दैनन् ?’, उनले भने, ‘यस कारण पनि तेरो–मेरो नभनी सबै धाराका माओवादी नेता–कार्यकर्ताको रक्षा हामी सबैको दायित्व हुनुपर्छ।’

मैनालीले सडक, सदन र सरकार जहाँ पनि माओवादीको प्रभावकारी उपस्थिति रहेको बेला सबै मिलेर समाजवादी दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले आजको मात्र होइन भविष्यको लागि पनि राजनीति गर्ने हो। त्यसैले सबै एकजुट भएर समाजवादी दिशामा अगाडि बढौँ, यही नै आज सबै माओवादीको कार्यभार हो।’

प्रकाशित: ६ फाल्गुन २०८० २०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App