१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादी विधान अधिवेशन: प्रत्यक्ष नेतृत्व चयनमा दाहालकै रुचि

नेकपा माओवादी केन्द्रको मंगलबार सुरु विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: नागरिक

नेकपा माओवादीको जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भएको छ। जसमा निर्वाचनबाट नेतृत्व चयन र पार्टीको नाम परिवर्तन गर्ने विषयको प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहालकै रुचि देखिएको छ।

मंगलबारदेखि सुरु अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले राखेको पूरक प्रस्तावमा अध्यक्ष दाहालले यो पनि आफ्नै प्रस्ताव भएकाले छलफलका लागि आग्रह गरेका थिए।

‘सबै पदाधिकारी निर्वाचित हुनु जरुरी छ, अधिवेशनमा यस विषयमा छलफल होस्,’ दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने। उनका अनुसार विधान मस्यौदा समितिले प्रतिवेदन बुझाउने क्रममा केही बुँदा छुटेकाले थप गर्न लागिएको बताएका थिए।

विधान अधिवेशनमा सहभागी केन्द्रीय सदस्य शिवबहादुर बस्नेतका अनुसार उपमहासचिव शर्माले राखेको प्रस्तावमा छलफल हुने भएको छ। ‘शर्माले राखेको प्रस्तावमा पार्टी अध्यक्षको पनि चासो देखियो, त्यसमा छलफल हुनेछ,’ केन्द्रीय सदस्य बस्नेतले भने।

समग्र विधान मस्यौदामाथि माओवादीले २० वटा समूह बनाएर छलफल गर्ने भएको छ। अधिवेशनको सुरुमै अध्यक्ष दाहालले २० वटा समूहमा छलफल हुने बताएका थिए। प्रतिनिधिहरूका अनुसार शर्माको प्रस्तावमाथि पनि छलफलको माग गरिएकाले त्यसमा पनि छलफल हुनेछ।

अधिवेशनमा दाहालले सबै तहमा निर्वाचन हुनुपर्ने आवश्यकता देखिएको बताएका थिए। अधिवेशनमा केन्द्रीय समिति र तलका विभिन्न स्तरका समितिको निर्वाचन कसरी गर्ने र कस्तो विधि अपनाउने भन्नेमा बहस चल्यो। बहसमा दाहालले सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नै निर्वाचन गर्नुपर्छ भन्ने अनुभवले पनि देखाएको बताए।

‘स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन पनि प्रत्यक्ष गर्नुपर्ने हुन्छ,’ दाहालले भनेका थिए। उनले त्यस क्रममा समावेशी प्रतिनिधित्व भने न्यायोचित हुनेगरी गर्नुपर्ने धारणा राखे। अधिवेशनको सुरुवातमा केन्द्रीय समिति निर्वाचित गरिसकेपछि पनि केही निश्चित प्रतिशत कोटा राख्ने विषयमा छलफल भएको दाहालको भनाइ थियो।

विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचनको विषय उठिरहेका बेला मंगलबार दाहालले जनयुद्धका सारथि तथ्यसहित आए आफू नेतृत्व छाड्न तयार रहेकोसमेत बताए।

 ‘माओवादी मोर्चाका सबै समूहलाई एउटै केन्द्र र मोर्चामा एकताबद्ध हुन अपिल गर्छु। अब ढिलो नगरौं, जति ढिला भयो, त्यति क्षति हुन्छ। यो राजनीतिक रूपमा घाटा हुनसक्छ। आउनुस् बसौं, समीक्षा गरौं, खुला कम्युनिस्ट मनले आत्मालोचना र आलोचना गरौं। अहिले जहाँ भए पनि हिजो माओवादी युद्धका सहयात्री बन्नुभएका तपाईंहरूले मलाई स्थापित गर्न सहयोग गर्नुभएको थियो। कोही कमरेड तर्क र तथ्यसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन,’ दाहालले सम्बोधनको क्रममा भनेका थिए।

केन्द्रीय सदस्य बस्नेतका अनुसार बुधबार बिहान १० बजेबाटै २० वटा समूहमा छलफल हुने भएको छ। दिउँसो १ बजेसम्म समूहगत छलफल भएपछि २ बजेदेखि रिपोटिङ सुरु हुनेछ। मंगलबारदेखि सुरु भएको अधिवेशन बिहीबार समापन हुनेछ।

प्रकाशित: २ फाल्गुन २०८० ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App