१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कृषि र पशुपन्छीबाटै मुलुकको समृद्धि: मन्त्री भुसाल

हेटौंडा उपमहानगरको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसाल।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि र पशुपन्छीबाटै मुलुकको आर्थिक समृद्धि हुने धारणा राखेका छन्।

मंगलबार हेटौंडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश र स्थानीय सरकारले समेत कृषि र पशुपन्छीलाई विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिए।

खानकै लागि काम गर्नुपर्ने अवस्था रहेकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाई थियो।

मुलुकको आर्थिक अवस्था सुधारका लागि समेत कृषि उत्पादनमा जोड दिनुपर्ने उनको घारणा थियाे। ‘कृषि उत्पादन वृद्धि गरी देशको आर्थिक समृद्धिमा योगदान गर्न र खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ’, उनले भने, ‘बेमौसमी खेतीसँगै १२ महिना नै माछा उत्पादन हुने अवस्था निर्माण गर्न आवश्यक छ।’

कृषि क्षेत्रको विकासमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने उनले सुझाव दिए। सरकारले पशुपन्छीजन्य उत्पादन तथा मासु निर्यात गरेर आर्थिक उपार्जनमा कृषकहरूलाई जोडिने गरी पशुपालनमा ठोस योजना बनाएर अघि बढेको मन्त्री भुसालले जानकारी दिए।

देश विकास र आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले चीनसँग पशुपन्छीजन्य उत्पादन तथा मासु निर्यात गर्ने गरी सम्झौता गरिसकेको उनले बताए। कृषि औद्योगिकीकरणका लागि कृषिजन्य उद्योगको स्थापना र विकासमा सरकारले योजना बनाउनुपर्नेमा उनले जोड दिए।

विगतका वर्षमा भन्दा यस वर्ष ३ प्रतिशत भन्दा बढी धान उत्पादन बढेको उनले सुनाए।

फरक प्रसङ्गमा उनले नेपालको उद्योग कलकारखाना बन्द हुनुमा आर्थिक तथा प्रशासनिकसँगै अन्य थुप्रै कारणहरु रहेको बताए। 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले उपमहानगरले समानुपातिक विकासमा जोड दिएको बताइन्।

२०२६ साल मंसिरमा हेटौंडालाई तत्कालीन सरकारले नगर पञ्चायत घोषणा र २०४८ सालमा नगरपालिका घोषणा गरेको थियो। २०७१ वैशाख २१ गतेको साविक चुरियामाई, पदमपोखरी, हटिया र हर्नामाडी गाविसलाई नगरपालिकामा गाभिएको थियो। 

नेपाल सरकारको २०७१ मंसिर १६ गतेको निर्णय अनुसार बसामाडी गाविस पनि हेटौंडा नगरपालिकामा गाभिएको थियो। २०७३ फागुन २७ गते हेटौंडा उपमहानगरपालिका घोषणा गरिएको थियो। २६२ वर्ग किलोमिटरमा फैलिएको हेटौंडा उपमहानगरमा एक लाख ९३ हजार ५७६ जनसंख्या रहेको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: १ फाल्गुन २०८० २०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App