२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दबाब अभियान सुरु गर्दै रास्वपाले भन्यो: मेलम्ची आयोजना ‘भ्रष्टाचारको अखडा’

मेलम्ची बजारमा २१ वटा रित्ता गाग्री प्रदर्शन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सिन्धुपाल्चोकबाट राष्ट्रव्यापी दबाब अभियान सुरु गरेको छ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको नजिकै कार्यक्रम गरेर उसले अभियान थालनी गरेको हो। समस्याग्रस्त २१ विकासे आयोजनामा पुगेर समस्या समाधानार्थ सरकारलाई दबाब दिन अभियान थालेको रास्वपाले रित्ता गाग्रीमा मेलम्ची पानी भर्न आएको सन्देश स्वरुप गाग्री प्रदर्शन गरेको जनाएको छ।

संघीय संसद्मा पार्टीबाट प्रतिनिधित्व गर्ने सबै २० सांसद मेलम्चीमा उतारेको रास्वपाका नेताहरुले मेलम्ची खानेपानी आयोजना ‘भ्रष्टाचारको अखडा’ बनेको आरोप लगाए। बलियो अध्ययनबिना आयोजना अघि बढाइएकाले अहिले समस्या निम्तिरहेको टिप्पणी गर्दै उनीहरुले भने, ‘आयोजनाबाट जनतालाई आर्थिक भार थोपर्ने काम मात्रै भयो।’

रास्वपा सभापति रवि लामिछानेले ६२ अर्ब रुपैयाँ खर्च भएको आयोजना पूरा हुन नसक्नु र समस्या निम्तिरहनुमा पर्याप्त अध्ययन नभएको जिकिर गरे। पहिरोको अध्ययन नगरिकन खन्याइएको पैसा जनतालाई भार पार्नुबाहेक अरु नभएको भन्दै उनले थपे, ‘एडिबीले बाँध सार्न सुझाव दिए पनि त्यसको पर्याप्त अध्ययन भएको छैन। मेलम्ची र हेलम्बु क्षेत्र अझै जोखिममा छन्।’ 

हेलम्बु–मेलम्ची क्षेत्रका स्थानीयले आयोजनाबाट २० प्रतिशत रोयल्टी पाउनु पर्ने भन्दै लामिछानेले रास्वपा त्यसको सुनिश्चितताको पक्षमा उभिने बताए।

उपसभापति डा. स्वर्णिम वाग्लेले मेलम्ची आयोजना ‘भ्रष्टाचारको जननी’ को रुपमा देखिएको आरोप लगाए। अर्बौँ खर्च भएको आयोजना निकम्मा अवस्थामा पुगेको तर्क गर्दै उनले ढिलासुस्ती र ऋणमाथी ऋण थुपारिएको, नियुक्तिमा किनबेच गरेर भ्रष्टाचार गरेका कारण मेलम्ची पुरा हुन नसकेको दाबी गरे।

‘नीतिगत भ्रष्टाचार, आयोजनामा कृतिम वा प्राकृतिक अवरोध गरेर गरिने भ्रष्टाचार र निर्माण व्यवसायीले गर्ने भ्रष्टाचारका कारण मेलम्ची समयमै सम्पन्न हुन नसकेको हो,’ वाग्लेको जिकिर थियो। महामन्त्री डा. मुकुल ढकालले काठमाण्डौँवासीले पानी खान पाएका छैनौं भनेपछि रित्ता गाग्री बोकेर मेलम्चीको मुहानमा पानी भर्न आएको भन्दै सरकारलाई व्यङ्ग्य गरे।

मेलम्ची बजारबाट पैदलै हिँडेर आयोजनाको मुहानस्थल हेलम्बु र दुई वर्षअघि आयोजना र तल्लो तटीय क्षेत्रमा व्यापक भौतिक क्षति पुर्‍याउने गरी निम्तिएको भ्रेमाथाङ पहिरोसम्म पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

प्रकाशित: २१ माघ २०८० १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App