कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशवासीलाई खानेपानी निःशुल्क दिने तयारी प्रदेश सरकारले गरिरहेको बताएका छन्।
शनिबार विराटनगर वडा नम्बर-६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुख्यमन्त्री कार्कीले आगामी वर्ष देखि खानेपानी निःशुल्क दिने तयारी भइरहेको जानकारी दिएका हुन्।
कार्कीले भाँडा धुने, लुगा धुने, गाडी धुने पानी दिन नसके पनि आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानी निःशुल्क दिनेबारे प्रदेश सरकारले अध्ययन गरिरहेको बताए।
कार्कीले भने ‘आगामी वर्षको बजेटमा प्रदेशवासीलाई प्रति परिवार १० युनिट खानेपानी निःशुल्क दिनेबारे प्रदेश सरकारले तयारी गरिरहेको छ।’
मुख्यमन्त्रीले सरकारले लोक कल्याणकारी राज्यको मान्यताअनुसार जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नेतर्फ ध्यान दिने बताए।
कार्कीले कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष देखि नै प्रदेशका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गरेर पैसाकाे अभावमा बालबालिकाले ज्यानै गुमाउनुपर्ने अवस्थाको अन्त्य गरेको दाबी गरे।
विराटनगर वडा नम्बर-६ का अध्यक्ष हरिशचन्द्र शहनीले वडावासीको मधुमेह र उच्च रक्तचापको समस्या न्यूनीकरणका लागि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए।
शहनीले विराटनगर वडा नम्बर-६ का विभिन्न स्थानमा तीन दिन सम्म आयोजना गरिएको स्वास्थ्य शिविरबाट ८ सय बढी सेवाग्राही लाभान्वित भएको बताए। स्वास्थ्य शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।
प्रकाशित: २० माघ २०८० १९:३१ शनिबार