११ आश्विन २०७७ आइतबार
राजनीति

नेपाल र चीनको सेनास्तरमा सम्बन्ध विस्तार हुनुपर्छ : रक्षामन्त्री

काठमाडौं – रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिएका छन्। 

शिष्टाचार भेटका लागि बुधबार सिंहदरबार आएका नेपालस्थित चीनका राजदूत यु होङसँग रक्षामन्त्री पोखरेलले दुई देशको सम्बन्ध र सहयोग अभिवृद्धिबारे छलफल गर्ने क्रममा यस्तो धारणा व्यक्त गरेका हुन। 

मन्त्री पोखरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै आपसी सम्बन्धको विस्तार नेपाली सेना र चिनियाँ सेनाका स्तरमा समेत विकसित हुनुपर्ने धारणा व्यक्त गरे। 

उनले दुवै राष्ट्रको हितसँग सम्बन्धित सूचना आदान प्रदानलगायत नेपालको विकासको निमित्त यस अघि भएका पूर्व सम्झौताहरु कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। 

रक्षामन्त्री पोखरेलले राजदूत होङलाई नेपालको पूर्वाधार विकासका लागि चीनको निरन्तर सहयोग अपेक्षित रहेको र नवगठित सरकारले मित्रराष्ट्र चीनसँग आपसी सहयोग र सम्बन्ध थप विकास र विस्तार गर्न चाहेको स्पष्ट गरेका थिए। 

भेटमा मन्त्री पोखरेललाई बधाई दिँदै राजदूत होङले नयाँ सरकारको कार्यकालमा चीनसँगको मित्रवत् सम्बन्ध अझ प्रगाढ हुने तथा दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गरेको मन्त्रालयका प्रवक्ता ऋषि राजण्डारीले जानकारी दिए। 

राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिन थप प्रगाढ हुनाका साथै पारस्परिक सहयोग पनि अभिवृद्धि हुने विश्वास व्यक्त गरेकी थिइन।

भेटका अवसरमा मन्त्रालयका सचिव विनोद केसी, उच्च सैनिक अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो। 

प्रकाशित: २३ फाल्गुन २०७४ १९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App