१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीले नगर प्रमुखको कार्यकक्षमा लगाए तालाबन्दी

लेटाङ नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा माओवादीले तालाबन्दी गरेको छ।नगर प्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको हो। नगर प्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराईको सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

लेटाङ–४ मा सहिद स्मृति प्रतिष्ठानले सहिद पार्क निर्माणको काम सुरुवात भट्टराईको सालिक राखेर थालेको बताइएको छ। तर, सालिक राखेको केही दिनमै नगर प्रमुख लावतीले नगर प्रहरी लगाएर हटाएको र निर्माण स्थलमा तोडफोड गरेको माओवादी केन्द्रले जनाएको छ। सहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्सालले सालिक हटाएका कारण तालाबन्दी गर्नुपरेको बताए। उनले नगर प्रमुखले सालिक हटाएर राम्रो काम गरेनन्। सहिद पार्क बनाउन सहयोग गर्नुपर्नेमा उल्टै बनाएको संरचना भत्काउनु ठिक भएन। विभिन्न सङ्घसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा किचलो गरेको लम्साले बताए।

माओवादी द्वन्द्वकालमा लेटाङबाट १० जनाको मृत्यु भएको थियो। उनीहरूको स्मृतिमा सहिद पार्क बनाउन थालेपछि नगर प्रमुखले किचलो गरेपछि कार्यकक्षमा तालाबन्दी गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ। 

नगरपालिकाले आधुनिक बसपार्क निर्माण गर्नका लागि घेराबेरा गरेर राखेको क्षेत्रमा जबरजस्ती बिहीबार राति एक जनाको सालिक राखिएपछि विवाद बढेको बताउँदै, नगर प्रमुख भूपेन्द्रकुमार लावतीले भने, ‘सालिक र जग्गाको विवाद बढेकोपछि सालिक राख्न खोज्ने समूहले राख्न नपाएपछि कार्यकक्षमा तालाबन्दी गरेका हुन्। नगरपालिकाले त्यो करिब अढाई बिघा क्षेत्रफल घेराबेरा गरेर बसपार्क सञ्चालन गर्दै आएको छ। त्यही जग्गामा जबरजस्ती एउटा समूहले सालिक राख्न खोजका हुन्। राति सालिक राखेपछि शुक्रवार अन्य विभिन्न समूहले पनि त्यो जग्गा राखिएको सालिक तोडफोड गर्ने भएपछि सुरक्षित तवरबाट सालिकलाई इलाका प्रहरी कार्यालयमा सुरक्षित राखेका छौँ।’

कुनै एक पक्षले मात्रै जग्गा भोग गर्ने र सालिक राख्न नपाउने भन्दै स्थानीयहरू विरोधमा उत्रेपछि उनीहरुले सालिकलाई तोडफोड गर्न लाग्दा सम्झाई बुझाइ सालिकलाई सुरक्षित राख्नका लागि प्रहरीको संरक्षणमा दिइएको हो।

२०७३ सालमै सर्वदलीय संयन्त्रको बैठकबाट विवादित क्षेत्र नगरपालिकाले संरक्षण गर्दै बसपार्क सञ्चालन गर्ने निर्णय अनुसार बसपार्क सञ्चालनमा रहेको बताउँदै, नगर प्रमुख लावतीले भने, ‘सर्वदलीय बैठकले गरेको निर्णयअनुसार त्यहाँ आधुनिक बसपार्क निर्माण गर्नका लागि घेराबेरा गर्ने काम सम्पन्न भइसकेको छ। चाँडै बसपार्कको काम अघि बढाउने प्रक्रियामा रहेको जग्गामा एउटा समूहलाई दिँदा विवाद हुने हुँदा कसैलाई नदिई बसपार्क बनाउन लागेका छौँ। एउटा समूहले जबरजस्ती जग्गा लिँदा अन्य दल र स्थानीयले विरोध गरेपछि विवाद बढेको हो।
 

प्रकाशित: ५ माघ २०८० १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App