१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

माघ ३ः मधेसले पहिचान पाएको दिन

स्थापना भएको ४ वर्षपछि आजकै दिन प्रदेश २ ले संवैधानिक रूपमा नाम पाएको थियो। ०७८ माघ ३ गते प्रदेस २ ले मधेस प्रदेशको पहिचान पाएको थियो। यस अवरसरलाई आज मधेस प्रदेश सरकारले स्वाभिमान दिवसको रूपमा मनाउँदै छ।

गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो। आज मधेस सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ।

२०७९ पुस २७ गते  मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए। गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ।

०७८ मा प्रदेश २ को स्थायी राजधानी र नामकरणका सहमति जुट्न नसकेपछि मतदान भएको थियो। राजधानी जनकपुरधाममा सहमति जुटिसकेपनी  'मधेस' नाममा दलहरूको असहमति थियो। त्यसपछि भएको मतदानमा मधेस प्रदेश प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो।

विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव 'मधेस प्रदेश' को पक्षमा ८० मत परेको थियो।

प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले मात्र विपक्षमा मतदान गरेका थिए।

तत्कालीन सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको  'मधेस प्रदेश' प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू 'मिथिला भोजपुरा प्रदेश', 'जानकी प्रदेश' र 'मध्य मधेस प्रदेश'  प्रस्ताव स्वतः निष्क्रिय भएको थियो।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो।

जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए।

प्रकाशित: ३ माघ २०८० ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App