१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संघीय संसद्को अन्तरिम कार्यविधि तयार

काठमाडौं – संघीय संसद्को बैठक सञ्चालनका लागि संसद् सचिवालयले अन्तरिम कार्यविधि तयार गरेको छ । संघीय संसद् सचिवालयले दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि अन्तरिम कार्यविधि तयार गरेको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा सोमबार संघीय संसद्को बैठक आह्वान भएको छ । बैठक  आगामी फागुन २१ गते ४ बजेका लागि बोलाइएको हो। 

२१ गते राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक ४ बजे नै बस्नेछ ।  संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले  राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकको अन्तरिम कार्यविधि तयार भएको बताए । ‘हाम्रो तर्फबाट कार्यविधि तयार भएको छ, केही थपघट गर्नुपरेमा राजनीतिक दलको सहमतीमा गरिनेछ,’ उनले भने। कार्यविधि नियमावली तयार नभएसम्मका लागि हुनेछ । विशेष गरी सभामुखको निर्वाचनपछि मात्रै नियमावली समिति गठन गरिने चलन छ।

प्रतिनिधिसभाको बैठक बसेको  मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन राष्ट्रियसभाको बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र गर्नुपर्ने  व्यवस्था छ ।   संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचन र धारा ९२ मा राष्ट्रियसभाका  अध्यक्ष र उपाध्यक्षको निर्वाचनसम्बन्धी व्यवस्था छ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठकले आफ्नो कार्यविधि पारित गर्नेछन् । 

कार्यविधि पारित भएपछि प्रतिनिधिसभाका सभामुखको निर्वाचनपछि नियमावली मस्यौदा समिति गठन गरिनेछ भने राष्ट्रियसभा अध्यक्षको निर्वाचनपछि राष्ट्रियसभाको नियमावली मस्यौदा समिति गठन गरिनेछ। कार्यविधि पारित भएपछि दुवै सदनमा नियमावली नबनेसम्मका लागि आ–आफ्नो कार्यविधिका आधारमा बैठकको कारबाही सञ्चालन हुनेछ।

प्रतिनिधिसभाको बैठक  र राष्ट्रियसभाको बैठक, सदस्यहरूको उपस्थिती र बस्नेक्रम, बैठकको अध्यक्षता, सभामुखको निर्वाचन, उपसभामुखको निर्वाचन, अध्यक्ष उपाध्यक्षको निर्वाचन, सभामुख र उपसभामुखको सपथ, अध्यक्ष र उपाध्यक्षको सपथका विषयमा कार्यविधिमा उल्लेख गरिएको छ।

बैठकमा सभामुख र सदस्यहरूले तथा अध्यक्ष र सदस्यले पालना गर्नुपर्ने कुरा र छलफलमा भाग लिने सदस्यले गर्न नहुने कुराको विषयमा कार्यविधिमा उल्लेख छ। बैठकको सुव्यवस्था कायम राख्न संघीय संसद्को विषेषधिकार, प्रतिनिधिसभामा पेश गरिने प्रस्ताव बारे पनि उल्लेख  छ।

नीति तथा कार्यक्रमलाई कार्यविधिमा नराखिएको प्रवक्ता गौतमले जानकारी दिए । तर यसबारे राजनीतिक दलसँग सल्लाह गरेर पुनः राख्न सकिने पनि उनले बताए। कार्यविधिमा छलफल र निर्णय गर्ने तरिका, नियमापत्ति, कार्यव्यवस्था समितिको गठन, बैठकको कार्यविधि र कार्यसूची, विश्वासको मत, बाधा अड्काउ फुकाउने, सभामा प्रतिनिधित्व गर्ने दलले कार्यविधि पारित भएको सातदिनभित्र विवरण दिनुपर्नेछ जस्ता व्यवस्था उल्लेख गरिएको छ।

संघीय संसद्को बैठक बस्नुअघि संविधानको धारा ८८ बमोजिम राष्ट्रियसभाका सदस्य र प्रतिनिधिसभाका सदस्यले सपथ लिनुपर्नेछ। ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुन बमोमिज सपथ लिनुपर्नेछ,’ संविधानमा उल्लेख छ । संघीय संसद् सचिवालयले २० गते वा २१ गते बिहान दुवै सदनका ज्येष्ठ सदस्यसँग राष्ट्रियसभाका सदस्य र प्रतिनिधिसभाका सदस्यले सपथग्रहण गराउने तयारी गरिएको संसद सचिवालयले जनाएको छ।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ००:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App