१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

जसपाले बोलायो बैठक, महाधिवेशनको मिति घोषणा हुन सक्ने

जनता समाजवादी पार्टी (जसपा) ले यही पुस २५,२६ र २७ गते पार्टीको बैठक बोलाएको छ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पुस २५ र २६ गते राजनीतिक समितिको बैठक बोलाइएको छ भने पुस २७ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ। यस पटकको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति र समय तय हुन सक्ने सम्भावना रहेको उनले बताए।

‘अब हामी महाधिवेशनको तयारीमा जुट्छौ। सम्भवतः यसै पटकको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति र समय तय हुन सक्छ’ उनले भने।

२०७७ वैशाख १२ गते जसपा पार्टी गठन गरिएको थियो। कानुन अनुसार पार्टी गठन भएको ५ वर्ष भित्र महाधिवेशन गरिसक्नु पर्छ। तर यस पटक ५ वर्षीय समय सीमाभन्दा धेरै अगाडि महाधिवेशन गरिसक्ने सुमनले बताए।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवन कालमा एक पटक मात्र महाधिवेशनको सामना गरेका छन्। उनको पार्टी स्थापना भए देखि नै पटक-पटक जुट्दै फुट्दै आएको छ। दुई पार्टीबिच एकीकरण भई नयाँ पार्टी गठन भएमा एकीकृत पार्टीले ५ वर्षसम्म महाधिवेशन गर्नु पर्ने कानुनी बाध्यता छ।

पार्टी गठन भएको ५ वर्ष नपुग्दै यादवले अर्को पार्टी सँग एकीकरण गरी नयाँ पार्टीको घोषणा गर्ने गर्छन्। नयाँ पार्टी घोषणा हुने बित्तिकै महाधिवेशन गर्ने समय अरु ५ वर्ष धकेलिने गर्छ। त्यसैले यादवले हम्मेसी महाधिवेशनको सामना गर्नु परेको छैन।

प्रवक्ता सुमनका अनुसार केन्द्रीय समितिको बैठकमा पार्टीको विधान अनुसार सबै विभागलाई पूर्णता दिने तथा पार्टीले सञ्चालन गरेको ३ महिने संगठन सुदृढीकरण अभियानको विषयमा समीक्षा हुने भएको छ। यसैगरी केन्द्रीय समितिको बैठकमा लेखा विभाग प्रमुख अमरेशनारायण झाले लेखा परीक्षणको रिपोर्ट प्रस्तुत गर्ने एजेण्डा तय गरिएको समुनले बताए।

प्रकाशित: २३ पुस २०८० १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App