२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन बहिस्कार गर्ने हुम्ला माओवादीको चेतावनी

राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट डा. दीपेन्द्र रोकायको उम्मेदवारी नपरे निर्वाचन बहिस्कार गर्ने माओवादी केन्द्र हुम्लाले निर्णय गरेको छ।

अहिलेसम्म भएका राष्ट्रियसभा निर्वाचनमा हुम्लालाई उपेक्षा गरिएको भन्दै जिल्लाबाट सर्वसम्मत सिफारिस भएका रोकायलाई उम्मेदवार बनाइनुपर्ने माग आफूहरूको रहेको केन्द्रीय सदस्य एवम् सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जानकारी दिए। रोकाय माओवादी केन्द्र हुम्लाका इन्चार्ज हुन्। उनी यसअघि कर्णाली प्रदेश योजना आयोगको सदस्य थिए।

केन्द्रीय सदस्य भण्डारीले हुम्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व नभएसम्म राष्ट्रियसभा निर्वाचनमा मात्रै होइन पार्टीका प्रदेशस्तरीय बैठकमा पनि सहभागी नहुने निर्णय गरेर माथिल्लो निकायमा पठाइएको बताए।

‘यसपटक पनि हुम्लाबाट राष्ट्रियसभामा प्रतिनिधित्व नहुने संकेत पाएपछि शनिबार नै बैठक बसेर दुई बुँदे निर्णय गरेका छौं,’ उनले भने, ‘पहिलो बुँदामा राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने र दोस्रो बुँदामा पार्टीका प्रदेशस्तरीय बैठकमा पनि सहभागी नहुने उल्लेख छ।’

उनले लिखित निर्णय प्रदेश कमिटी र केन्द्रीय कमिटीका अध्यक्ष र पदाधिकारीहरूलाई म्यासेन्जर र ह्वाट्सएपमा पठाइएको बताए।

उनले राष्ट्रियसभा निर्वाचन र प्रदेश कमिटीका बैठक भन्दा पार्टीका तल्लो तहमा संगठन विस्तारमा आफूहरू लाग्ने बताए। ‘संगठन निर्माणमा लाग्छौं, कार्यकर्ता व्यवस्थापनमा लाग्छौं,’ उनले भने, ‘२१ औं शताब्दीका रैती अब हामी बन्न सक्दैनौं।’ माओवादी केन्द्रबाट स्थानीय तहमा ६ जना जनप्रतिनिधि र प्रदेशसभामा दुईजना सांसद छन्।

उनले अहिलेकै अवस्थामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले भने पनि आफूहरू भोट हाल्न नआउने दावी गरे।

‘पार्टीको भागमा दलित परेको खण्डमा केही सर्तसहित भोट हाल्न सकिन्छ होला, तर अन्य परेर पनि हुम्लाले उम्मेदवार नपाए भोट हाल्न आउँदैनौं।’

प्रकाशित: २३ पुस २०८० ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App