२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्मम भएर भ्रष्टाचारीलाई कारबाही गर्न सचिव खनालको माग

कार्यक्रममा बोल्दै माओवादी नेता चक्रपाणि खनाल (बलदेव) । तस्विरः महेश्वर

नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणि खनाल (बलदेव)ले गठबन्धन सरकारले भ्रष्टाचारीलाई निर्मम भएर कारबाही गर्न सुझाएका छन्।वर्तमान गठबन्धन सरकार अझ मजबुत भएर अघि बढ्नुपर्ने बताउँदै सचिव खनालले भ्रष्टाचारको विषयमा योभन्दा निर्मम बनेर अघि बढ्न सुझाएका हुन्।

कटारी नगरपालिका ८ सिरिसेमा आज आयोजित ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ समापन कार्यक्रममा कोसी प्रदेश इन्चार्जसमेत रहेका सचिव खनालले गठबन्धन सरकारले अहिलेसम्मको इतिहासमा कसैले नगरेको भ्रष्टाचारीलाई कारबाही थालेको बताए।देश र जनताले दुःख पाउनुको मुख्य कारण भ्रष्टाचार नै भएको ठोकुवा गर्दै उनले त्यसको न्यूनीकरण र अन्त्यका यो सरकार निरन्तर लागि रहनुपर्नेमा जोड दिए।

एकपछि अर्को फाइल सरकारले खोल्दै गएपछि भ्रष्टाचारका नाइकेहरू आत्तिन थालेको र सरकाबिरुद्ध बिभिन्न अफवाह फैलाउन थालेको भन्दै उनले त्यस्तो अफवाहको पछि नलागि बेथिति र भ्रष्टाचारविरुद्ध निरन्तर कारबाही अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराए।भ्रष्टाचार नियन्त्रण गर्न सकेमा जनताले त्यत्तिकै सुशासन महसुस गर्ने भन्दै सचिव खनालले त्यसका लागि बेलगाम अघि बढ्दा सरकारलाई माओवादीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

पार्टीको रूपान्तरण अभियानले जनताको मन छुन सफल भएको जिकिर गर्दै सचिव खनालले यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने बताए । नेकपा माओवादी क्रान्ति र जनताको जगबाट उठेको ऐतिहासिक राजनीतिक दल भएकाले जनतासँग भिज्न र उनीहरूकै दुःखसुखसँग एकाकार हुनका लागि अभियान चलाइएको उनको भनाई थियो।यो अभियानले पार्टी संगठन मजबुत र बिस्तार हुनुका साथै नेता, कार्यकर्ता र जनतालाई संगठित, एकता र सहकार्य गर्ने अवसर प्राप्त भएको खनालले बताए।यो अभियानले आउँदो ०८४ को चुनावलाई पनि उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई थियो।

सचिव खनालले ३ दशकदेखि अलपत्र परेको मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुङ्गा जोड्ने ‘सिद्धिचरण लोक मार्ग’को स्तरोन्नति गर्न सोझै प्रधानमन्त्रीसँग बजेट माग्ने प्रतिबद्धता पनि जनाए । उदयपुरको पश्चिमी भेग, सिराहा, ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुलाई जोड्ने सडक भएर पनि सरकारी बेवास्ताको सिकार बनेको यो लोक मार्गको स्तरोन्नति अनिवार्य भएको भन्दै उनले प्राविधिक इस्टीमेट अनुसारको बजेट सोझै प्रधानमन्त्री स्तरबाट छुट्याउने पहल गर्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले पार्टी रूपान्तरण अभियानले माओवादीको संगठन बिस्तार र मजबुत पार्नुका साथै ०६२÷६३ को अधुरो क्रान्तिलाई शान्तिपूर्ण तवरले पुरा गर्न सहयोग पु¥याएको बताए । जनतासँग नेता र कार्यकर्तालाई अबिछिन्न रुपमा जोडिराख्न यस्ता अभियानहरू पार्टीले नियमित रुपमा सञ्चालन गर्नुपर्ने भन्दै उनले छिट्टै अर्को अभियान घोषणा गर्न माग गरे । अहिले सिङ्गो नेपाल माओवादीको एजेण्डामा चलिरहेको बताउँदै अध्यक्ष नेम्बाङले भुईतहका जनतासम्म पुग्ने सङ्घीयता र गणतन्त्रलाई संस्थागत गर्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरे।

केन्द्रीय सदस्य केपी बरालले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने नारा सहित सञ्चालित अभियानको क्रममा पार्टी संगठन विस्तार मात्र नभएर नेता कार्यकर्ताहरूले जनताको दैनन्दिन समस्या सम्बोधन र सरसफाई, सडक पूर्वाधारजस्ता कैयौँ विकास निर्माणका कामहरू पनि भएको बताए।गत भदौ १६ गतेदेखि सुरु देशव्यापी रूपान्तरण अभियानमा गाउँघर, डाँडा पाखा, कुना कन्दरा सबैतिर नेता कार्यकर्ता पुगेर संगठन बिस्तार, विकास निर्माण र भेटघाटका गतिविधि सञ्चालन भएको माओवादी कटारी नगर कमिटी अध्यक्ष मणिराज दाहालले बताए। 

प्रकाशित: १९ पुस २०८० १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App