१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सार्वजनिक सुनुवाइमा रवि लामिछानेलाई प्रश्नको ओइरो

क्याप्शन

‘कुनचाहिँ राजनीतिक दबाब सिर्जनाले बचतकर्ताको रगतपसिनाको उठिबास पारी कुन दुलोबाट हामीलाई चिहाइरहेको छ। यसको जवाफ माननीयज्यूबाट चाहन्छु?, यो प्रश्न थियो चितवन–२ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार कालिका नगरपालिकामा राखेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहारा चितवन बहुउद्देश्य सहकारीका बचत कर्ता पूर्णभन्द्र कँडेलको। सोही समय लामिछानेमाथि उनले नरम हुँदै अर्को प्रश्न थपे, ‘सहकारीका सञ्चालकलाई पक्राउ पुर्जी जारी भए पनि हालसम्म किन पक्राउ गर्न सकिएन?’

प्रश्न सकिएपछि लामिछानेले सत्तामा बसेका व्यक्तिका कारण सहकारीका सञ्चालकहरू पक्राउ नपरेको बताए। ‘सहकारीका विषयमा एकपटक होइन धेरै पटक यहाँहरूसँग कुरा गरेको सम्झना छ होला। अहिले मैले सुनेअनुसार रेड नोटिस पनि जारी गर्न लागेको अवस्थामा कसैले रोकिरहेको छ भने त्यो शक्ति भएकाले मात्रै रोक्न सक्छ। शक्ति सरकारसँग छ,’ उनले सहजै उत्तर दिए, ‘यदि पक्राउ गरिरहेको छैन भने सरकारले गरिहेको छैन।’

उनले सरकारले बचतकर्ताहरूको समस्या समाधान गर्न कठोर भएर लाग्नुपर्ने धारणासमेत राखे। सहकारीले अपचलन गरेकालाई कठोरभन्दा कठोर कदम चालेर उनीहरूको बचत फिर्ता गर्नका लागि सरकारसँग यहीँबाट अनुरोध गर्न चाहन्छु उनले साहायक प्रमुख जिल्ला अधिकारीलाई देखाउँदै भने, ‘किन रोकिएको छ। यो पक्कै पनि यहाँहरूलाई जानकारी छ होला।’

अहिले लामिछानेलाई पनि सहकारीको रकम हिनामिना पारेको आरोप लाग्दै आएको छ। यसका जवाफ मतदातालाई दिँदै लामिछानेले भने, ‘म अवगत गराउन चाहन्छु। कुनै पनि किसिमको गलत क्रियाकलाप, गलत प्रवृत्तिलाई सघाउने नियत राखेको छैन। मलाई एउटै मात्र डर छ। यो मुद्दामा राजनीतिक लडाई गरेर अन्याय परेका बचतकर्तालाई दबाउने काम त भएको छैन।’

उनले सरकारले चासो राखेमा सञ्चालकको सम्पूर्ण सम्पत्ति जफत गर्नसक्ने बताए। ‘उनीहरूको सम्पत्ति कति छ। बचतकर्ताको ऋण दिनु उनीहरूको दायित्व हो,’ उनले भने, ‘सरकारले चाहयो भने सबै बचतकर्ताको पैसा ब्याजसहित फिर्ता गर्न सक्छ।’

 सहकारी ठगी गर्नेहरूको विवरण राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णीम वाग्लेको नेतृत्वमा अध्ययन समिति बनाएको उनले बताए। लामिछानेले देशभरका सहकारीको समस्याका विषयमा आफ्नो पार्टी लडिरहने दाबी गरे।

सहारा सहकारीबाट ठगिने अधिकांश यहीँका मतदाता छन्। सार्वजनिक सुनुवाइका क्रममा सहकारीको विषय जोडतोडले उठ्ने अनुमान गरिएको थियो। अनुमान जस्तो हुन सकेन।

कँडेलले प्रश्न राखेपछि यही विषयमा अन्यलाई प्रश्न राख्न दिइएन। कार्यक्रमको उद्घाटनको सम्बोधनकै क्रममा लामिछानेले सहकारीको विषयलाई लिएर आफूमाथि आएका टिकाटिप्पणीको समाधान गर्न आफू नै सक्षम रहेको बताए।

‘सहकारीका विषयमा कही कतै मलाई नै जोडिएर आएका कुराहरूमा पनि मेरो ध्यानाकर्षण भएको छ। ‘मेरो भनाइ तपाईं सहभागीलाई गराउन चाहँदैन। म आफ्नो लडाइँ आफैं लड्न सक्षम छु जस्तो लाग्छ। जतिखेर मद्दत चाहिन्छ त्यतिखेर भनौंला र मैले यति कुरा बताउन चाहन्छु।

मैले नियतवस कही कतै मेरो संलग्नता छैन,’ उनले स्पष्टीकरण दिँदै भने, ‘यदि हुँदो हो त हिनामिना पारेका सहकारीका सञ्चालकहरू जति पनि छन् सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने आँट हुने थिएन।’

उनले सहकारीका सञ्चालकलाई कारबाहीको लागि माग गर्दै तोक आदेश लगाएर मन्त्रीलाई पत्र बुझाएको बताए। अपचलन गरेका सहकारीको नाम नै उल्लेख गरेर बुझाएको उनको दाबी छ।

‘मलाई शंका र आरोपका विषयमा हेरिएको साहारा सहकारी पनि पर्दछ होला मैले नाम नै किटेर सहभागी को को छन्, कारबाही गर्न भनेको छु। कारबाहीभित्र आफूलाई अलग राख्ने कुरा भएन,’ उनले भने, ‘आफैंलाई कारबाही गर्ने पत्र बोकेर म मन्त्रालयमा जानुपर्ने आवश्यकता थिएन।’

समर्थनको बलमा म आफ्नो लडाइ लड्न चाहँदैन। तपाइको समर्थनको सम्मान गर्दै बचतकर्ताहरूको बचतको एकएक फाइलसमेत फिर्ता नभई अन्तिमसम्म लड्ने मान्छेको नाम के हो भनेर कसैले सोध्छ भने रवि लामिछाने हो,’ उनले भने, ‘कुनै पनि बचतकर्ताको एक एक पैसा हिसाब प्राप्त नभएसम्म तपाईको पक्षमा निरन्तर लडिरहने छु। चाहे म हुँ, चाहे मेरा मान्छे हुन्, मेरा पार्टीका हुन्, परिवारका हुन् जो भए पनि त्यसबाट विमुख हुने छैन।’

साहारा सहकारीमा चितवनका आठ हजारभन्दा बढी बचतकर्ताको रकम फसेको छ। त्यसमा ऋण लिनमा यसअघि लामिछाने आवद्ध गोरर्खा मिडिया नेटवर्कले पनि विनाधितो ११ करोड ९५ लाख रूपैयाँ ऋण लगेको देखिन्छ।

प्रकाशित: १३ पुस २०८० ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App