२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज ५ संसदीय समितिका बैठक, एनसेल खरिदबिक्री प्रकरणमा पनि छलफल

फाइल तस्बिर

आज एकै पटक ५ वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। ती बैठक बिहान साढे १० बजेबाट सुरु हुने जानकारी दिइएको छ।

बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । यो बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित कामकारबाहीहरू तथा समसामयिक विषयहरू सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ।

यसैगरी साढे ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। यो बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाहीको अवस्था, खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तिको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारण गर्ने सम्बन्धमा, जनशक्ति व्यवस्थापन, चालु आ.व.को वार्षिक बजेट, कार्यक्रम र भावी कार्य योजना लगायतका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुने जनाइएको छ।

त्यस्तै बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ भने दिउँसो १ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन लगायत गृह मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाका बारेमा गृह सचिवसँग छलफल हुने जानकारी दिइएको छ।

प्रकाशित: १२ पुस २०८० ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App