१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ५मा स्थायी राजधानीका लागि सहमति खोजिँदै

दाङ -प्रदेश ५ को स्थायी राजधानीका लागि ‘उपयुक्त स्थान’ पहिल्याउन सहमतिको प्रयास थालिएको छ । पार्टीका नेता तथा प्रदेश सांसदहरूले उपयुक्त स्थानमा स्थायी राजधानी घोषणा गर्नका आआफ्नो तवरबाट सहमतिका लागि पहल थालेका हुन् । वर्तमान सरकारले घोषणा गरेको अस्थायी मुकाम भौगोलिक तथा भौतिक पूर्वाधारका हिसाबले पनि उपयुक्त नभएको भन्दै स्थायी राजधानीका लागि उपयुक्त थलो चयन गनैैपर्ने आवाज राजनीतिक वृत्तमा व्यापक उठेको छ।

कांग्रेस नेता खुमबहादुर खड्काले स्थायी राजधानीका लागि दाङ उपयुक्त जिल्ला रहेको भन्दै दाङ राजधानी घोषणाका लागि सहमतिको प्रयासमा सक्रिय बनेका छन् । उनले माओवादी नेता कृष्णबहादुर महरा, एमालेका शंकर पोखरेलसँग छुट्टाछुट्टै छलफल गरेर आआफ्ना पार्टीका शीर्ष नेताहरूलाई मनाउनेबारे सल्लाह गरेका छन् । ‘मैले महराजी र शंकरजीसँग स्थायी राजधानीको सम्बन्धमा सिरियस वार्ता गरेको छु,’ कांग्रेस नेता खड्काले नागरिकसँग भने ‘तीनै नेताबिच आआफ्ना पार्टीका शीर्ष नेतालाई मनाउने सहमति भएको छ ।’ खड्काले चाँडै पुनः नेताद्वय महरा र पोखरेलसँग छलफल गर्नेसमेत बताए । आफूसँगको भेटमा दाङलाई स्थायी राजधानी तोक्ने सवालमा नेताद्वय पोखरेल र महरा अत्यन्त सकारात्मक रहेको भन्दै कांग्रेस नेता खड्काले भने, ‘उहाँहरूमा देखिएको सकारात्मक भावअनुसार उहाँहरूले आफ्नो पार्टी नेतृत्वलाई सहमतिमा ल्याउन कति गम्भीर हुनुहुन्छ भन्ने कुरा हो।’

कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीलाई र एमाले र माओवादीका सांसदले यसका लागि आआफ्नो पार्टी नेतृत्वलाई सहमतिमा ल्याउने काम भैरहेको छ ।

त्यसो त, खड्काले आफ्नै पार्टी नेतृत्वले बुटवललाई राजधानी घोषणा गर्न थालेको जानकारी पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत निर्णय नगर्न भन्दै सचेत गराएका थिए।

यो प्रदेशसभाका सदस्यले समेत स्थायी राजधानीका लागि उपयुक्त थलो चयन गर्नेुपर्ने भन्दै सहमतिको पहल थालेका छन् । उनीहरूले अनौपचारिक तथा औपचारिक रूपमा उपयुक्त थलोलाई स्थायी राजधानी तोक्नका लागि छलफललाई बढावा दिइरहेको बताएका छन्।

बुटवलस्थित उद्योग व्यापार संघको सभाहलमा सपथ खाएका प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले भने, ‘स्थायी राजधानीका लागि उत्तम विकल्प खोज्नैपर्छ ।’ २१ माघमा तय भएको प्रदेशसभाको पहिलो बैठक पनि यही सभाहलमा बस्ने तय भएकोप्रति उनले उक्त सभाहल बैठकका लागि उपयुक्त नभएको बताए।

‘गाडी पार्किङको व्यवस्था छैन, एकदमै कोलाहल वातावरण छ,’ खड्काले भने, ‘सभाहल पनि साँघुरो छ ।’ भौगोलिक हिसाबले पनि हालको अस्थायी मुकाम ‘छेउकुनो’ रहेको भन्दै उनले स्थायी राजधानीका लागि उपयुक्त थलोको चयन गर्नका लागि पहल भैरहेको बताए । ‘एकान्त छेउकुनामा रहेको राजधानीलाई हरेक जिल्लाका स्थानीयले रुचाउने कुरै हुँदैन,’ उनले भने, ‘सबैलाई पायकपर्ने स्थानमा राजधानी नभए भोली प्रदेशनै दीर्घकालीन रूपमा नरहने खतरा देखेको छु, यसबारे अहिले भैरहेको छलफल निकै सकारात्मक बन्दै गइरहेको छ।’

प्रदेशसभाको पहिलो बैठकसमेत सार्नेगरी प्रदेशसभा सदस्यहरूले सहमतिका लागि जोड दिईरहेका छन् । दाङका ईन्द्रजीत थारूले प्रदेशसभाको बैठक बस्नका लागि बुटवल व्यापार संघको सभाहल उपयुक्त नरहेको भन्दै पहिलो बैठकसमेत उपयुक्त स्थानमा तय गरिनुपर्ने बताउँछन् । ‘हल पनि साँघुरो छ, सपथकै बेला कति अस्तव्यस्त देखिएको थियो,’ उनले भने ‘त्यसमा पनि बाहिरी वातावरण हेर्दा सुरक्षा चुनौतीसमेत देखिन्छ ।’ उनले तय भएको बैठक स्थल अगाडि पार्किङको व्यवस्थासमेत नहुँदा धेरै असहज हुने बताए।

पहिलो बैठक दाङमा सार्नेगरी पहल थालिरहेको भन्दै थारूले यसका लागि प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष पहल भैरहेको बताए । ‘कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीलाई र एमाले र माओवादीका सांसदले यसका लागि आआफ्नो पार्टी नेतृत्वलाई सहमतिमा ल्याउने काम भैरहेकोछ,’ थारुले भने, ‘अहिलेसम्म यो प्रयास सकारात्मक बनिरहेको छ ।’ उनले हाल तय गरिएको बैठक हल वरिपरि फोहरसमेत रहेकाले उक्त स्थान बैठकका लागि उपयुक्त नरहेको पनि बताए।

बाँकेकी सांसद कृष्णा केसीले पनि भौगोलिक तथा भौतिक पूर्वाधारका कारण स्थायी राजधानी पायकमा पारिनुपर्ने बताइन् । उद्योग व्यापार संघको सभाहलमा सपथ खाएकी प्रदेशसभा सदस्य केसीले आगामी पहिलो बैठक सुरक्षाका दृष्टिले उपयुक्त रहेको सरकारी भवनमा हुनुपर्ने बताइन् । ‘सपथ लिएको व्यापार संघको हल प्रदेशसभा सचिवालयका लागि उपयुक्त नै छैन,’ उनले भनिन् ‘हामीहरू चाहान्छौँ, प्रदेशसभा सचिवालय सुरक्षित स्थानमा अनि सरकारी भवनमा होस् ।’ अति नै भीडभाड रहने सडकछेउमै बैठकस्थल रहनु सुरक्षाका दृष्टिले समेत उपयुक्त नहुने उनले बताइन् । अति नै भीडभाड रहने सडकको छेउमै प्रदेशसभा सचिवालय सुरक्षाका दृष्टिले पनि उपयुक्त देखिन्न,’ उनले भनिन्, ‘सुरक्षित स्थलमा प्रदेशसभाको सचिवालय बनाउने विषयमा सहमतिको प्रयास भैरहेको छ, अहिलेसम्मको छलफल सकारात्मक बनिरहेका छन्।’

वर्तमान सरकारले अस्थायी मुकाम तोकेपछि अब स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाई सदस्यको बहुमत आवश्यक पर्दछ । भेगीय हिसाबले स्थायी राजधानीका लागि कतै पनि दुई तिहाई बहुमत पुग्ने अवस्था देखिन्न । प्रादेशिक राजधानीका लागि दाङलाई तोकिनुपर्ने आवाज उठिरहेको छ।

यसको एकमात्रै विकल्प राजनीतिक सहमति देखिएकाले नेता तथा प्रदेशसभा सदस्यहरू सहमति प्रयासको बाटोमा सक्रिय बनेका छन् । दलीय सहमतिका आधारमा मात्रै राजधानी फेरबदल हुन सक्ने भन्दै राजनीति शास्त्री वीनबहादुर सिंह ओलीले भने, ‘अहिलेका प्रमुख दलका शीर्ष नेता सहमत भए भने दलीय ह्विप लागू भएको अवस्थामा राजधानी फेरबदल कुनै गाह्रो विषय होइन ।’ प्रदेश ५ को अस्थायी मुकाम वर्तमान सरकारले धेरै अपायक स्थानमा तोकेको भन्दै उनले सहमतिका आधारमा यो गलत निर्णय सच्याउने अवसरसमेत अहिलेका प्रमुख तीन दलहरूलाई रहेको उनको भनाइ छ।

प्रकाशित: १९ माघ २०७४ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App