२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘अब क्रमभंग’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा अब नयाँ ढंगले अघि बढ्न क्रमभंग गर्ने तयारी गरेको घोषणा गरेका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको ४०० केभी प्रसारण लाइन इनरुवा सबस्टेसनको शुक्रबार उद्घाटन गर्दै उनले कार्यकाल एक वर्ष पूरा भएपछि नयाँ ढंगले अघि बढ्ने बताएका हुन्।

‘एक वर्ष पूरा भएपछि नयाँ ढंगले धक्का दिएर क्रमभंग गर्नेछु,’ उनले भने। उनले आगामी एक–डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताए।

‘नेपालविरुद्ध गलत प्रचारको भाष्य बनाएर असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेका बेला जनतामा उत्साह जगाउन पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘नेपालमा अपार सम्भावना छ। जनतालाई आत्मविश्वास जगाउने काम अहिलेको सरकारले गरिरहेको छ।’

दाहालले अहिले करिब ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगिसकेकाले आगामी एकदेखि डेढ वर्षभित्र देशमा पूर्ण रूपमा विद्युतीकरण भएको घोषणा गरिने बताए।‘सम्पूर्ण तयारी भइसकेको छ। यो सुनौलो दिन अब छिट्टै आउँदैछ,’ उनले लिखित मन्तव्य राख्दै भने। प्रधानमन्त्री दाहालले सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको बताए।

‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्,’ उनले भने, ‘विगतमा मेरै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको थियो।’

उनले देशभित्र उत्पादित विद्युत् यही खपतका लागि सरकारले केही दिनअघि मात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्बाट पारित गरेको जानकारी दिए।

उनका अनुसार पछिल्लो एक वर्षमा देशभित्र खपत गरी बचत भएको विद्युत् भारततर्फ निर्यात गरी १५ अर्ब रूपैयाँभन्दा बढी आम्दानी भएको छ।

करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने इनरुवा सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने दाहालले बताए।

 ‘इनरुवा सबस्टेसनले गर्दा सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको छ,’ उनले भने, ‘इनरुवा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ। यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ।’

यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको पनि दाहालले जानकारी गराए।

सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले पछिल्लो समय सरकार गठन भएको झन्डै एक वर्षको अवधिमा ५०० मेगावट विद्युत् उत्पादन गरिसकेको र अब एक वर्षमा ५०० मेगावट थपिने जिकिर गर्दै आगामी १२ वर्षभित्र २८ हजार मेगावट विद्युत् उत्पादन हुने दाबी गरे।

‘अहिले २९ हजार मेगावट विद्युत् उत्पादन भइरहेको छ,’ उनले भने, ‘मुलुक प्रगतितर्फ अघि बढिरहेको छ।’ उनले कतिपयले मुलुक बर्बादीतिर अघि बढिरहेको भनेर भाष्य स्थापित गर्न खोजे पनि तथ्यले गलत साबित गरिदिएको बताए।

सबस्टेसन उद्घाटन कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार भुइँमान्छेको भावनाअनुसार अघि बढ्ने बताए।

प्रकाशित: ७ पुस २०८० ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App