१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार गठनमा फोरम - राजपाको गृहकार्य

काठमाडौं - प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी  फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौचारिक गृहकार्य सुरू गरेका छन् ।

प्रदेश २ मा फोरम र राजपाले पाएको सिट संख्या जोड्दा सरकार निर्माण गर्न  बहुमत पुग्छ । १ सय ७ सिटमध्ये फोरमको २९ र राजपाको २५ रहेको छ । सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ । फोरम र राजपाले पाएको सिट संख्या जोड्दा ५४ पुग्छ । त्यसबाहेक रौतहट ४(क)मा स्वतन्त्रबाट विजयी भएका प्रदेशसभा सांसद फुलबाबुलाई फोरम–राजपा गठबन्धनमा ल्याउने प्रयास भइरहेको फोरमका नेताहरू बताउँछन् । राजपाका एक नेता भन्छन्, ‘प्रदेश २ मा मुख्यमन्त्रीमा फोरम, सभामुखमा राजपा र उपमुख्यमन्त्रीमा राजपाले पाउने सहमति अनौपचारिक रूपमा भइसकेको छ । त्यसैलाई यसलाई निष्कर्षमा पुर्याउन त्यती धेरै समय लाग्दैन ।’ यसैगरी प्रदेश मन्त्रालयको सम्बन्धमा पनि बाँडफाँट भइसकेको ती नेताले बताए । उनका अनुसार प्रदेशका ७ मन्त्रालयमध्ये ४ मन्त्रालय फोरमले पाउने र ३ मन्त्रालय राजपाले पाउने सहमति भइसकेको छ ।

राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले प्रदेश २ मा सरकार गठन गर्नेबारे संघीय समाजवादी फोरम नेपाल र राजपाबीच अनौचारिक सहमति भइसकेको दाबी गरे । उनले भने, ‘प्रदेश २ मा सरकार गठन गर्नेबारे फोरम र हाम्रो पार्टीका शीर्ष नेताबीच अनौपचारिक सहमति भइसकेको छ । अब औपचारिक सहमति हुन मात्र बाँकी छ ।’ फोरमा अध्यक्ष उपेन्द्र यादव सोमबार विराटनगरतर्फ गएका छन् ।  प्रदेश २ मा सरकार गठन गनेबारेमा अन्तिम टुंगो जनकपुरमै हुने फोरमका नेताहरूले बताएका छन् । फोरम र राजपाको सहकार्य प्रतिनिधिसभा र प्रदेशसभाको चुनावदेखि कामय रहेको छ ।  यो सहकार्य राष्ट्रियसभाको चुनाव र प्रदेश २ मा सरकार गठन गर्नेसम्म कायम रहने फोरम र राजपाका नेताहरूले बताएका छने । प्रदेश २ मा सरकार गठन गर्न नेपाली कांग्रेस र वाम गठबन्धनको बहुमत नपुग्ने भएपछि कांग्रेस र वाम गठबन्धनले यसबारे चासो लिएका छैनन ।

कांग्रेसको समर्थन जुटाउने प्रयास
फोरम–राजपा गठबन्धनले सरकार निर्माणमा  नेपाली कांग्रेससँग पनि समर्थन जुटाउने प्रयास फोरम–राजपाका नेताहरूले गरेका छन् । सरकार निर्माणमा कांग्रेसको  समर्थन रहे प्रदेश सरकार  झनै बलियो हुने राजपाका नेताहरू बताउँछन्।

राजपाका सहमहामन्त्री झाले भने, ‘राजपा–फोरम गठबन्धन र नेपाली कांग्रेसबीच सहकार्य राष्ट्रियसभा निर्वाचन र प्रदेश २ मा सरकार निर्माणमा पनि  कायम रहने छ ।’ सरकार गठनबारे राजपाका नेताहरूले कांग्रेससँग अनौपचारिक कुराकानी गरेको स्रोतको भनाइ छ । खासगरी राजपााका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य शरतसिहं भण्डारीले नेपाली कांग्रेसका नेताहरूसँग अनौपचारिक कुराकानी गरेका छन् ।  फोरम र राजपाले सिफारिस गरेका एक÷एक व्यक्तिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख बनाएका छन् । फोरमका सिफासिमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ मा  र राजपाको सिफारिसमा उमाकान्त झालाई प्रदेश ५ मा देउवाले प्रदेश प्रमुख बनाएका छन् । कांग्रेससँगको यस्तो सहकार्य प्रदेश २ को सरकार निर्माण्मा पनि कायम रहने राजपाका नेताहरूको भनाइ छ ।

मुख्यमन्त्री को दाबेदार को ?
प्रदेश २ मा को नेता मुख्यमन्त्री होलान् भनी  विभिन्न तहमा अनुमान र अड्कल गर्न थालिएको छ । खासगरी संघीय फोरमका उपाध्यक्ष लालबाबु यादव, कोषाध्यक्ष विजय यादव र नेता शैलेन्द्र साहको नाम चर्चामा रहेको छ । अहिले यी नेता आफू मुख्यमन्त्री हुन विभिन्न किसिमबाट लविइङ गर्न थालेका छन् । खासगरी पार्टी अध्यक्ष उपेन्द्र यादवको समर्थन लिन ३ नेताकोम दौडधूप सुरू भएको छ । यसैगरी सभामुखका लागि पनि विभिन्न नाम चर्चामा आएको छ । सभामुखमा राजपाका महासचिव मनिष सुमन र जितेन्द्र सोनारको नाम चर्चामा छ । यसैगरी प्रदेश मन्त्रालयको लागि पनि फोरम र राजपाका नेताहरूले पनि आफ्नै किसिमबाट लविङ गर्न थालेका छन् । फोरम र राजपाका प्रदेशसभाका अधिकाशं सांसदहरू अहिले पार्टीका शीर्ष नेताहरूसँग नजिकिन होडबाजी गरेका छन् ।

प्रकाशित: १६ माघ २०७४ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App