१६ चैत्र २०८० शुक्रबार
राजनीति

संरक्षण सहिदको ख्याल भएन

चितवन- माओवादी शसस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले बिहिबार सहिद घोषणा गरेको छ। सो सहिद घोषणा चितवनबाट ७० सालमा चुनाव जितेर अहिलेको काम चलाउ सरकारमा वन मन्त्री रहेका विक्रम पाण्डेको पहलमा भएको भनिदै आएको छ।

                माडी केन्द्रित राजनीति गर्दै आएका पाण्डेले वनमन्त्री भएका बेलामा पनि माडी नजिकै भएको एउटा घटनामा गोली हानेर मारिएका वन कर्मचारीलाई ‘संरक्षण सहिद’ घोषणा हुनु पर्ने मागलाई भने ख्याल गरेको पाइएन। विस २०७१ साल असोज नौ गते माडी बगई जंगलमा चितवन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट शेषचन्द्र चौधरीको गोली प्रहारबाट हत्या भएको थियो।

माडीबाट मोटरसाइकल चढेर आफु कार्यरत निकुञ्जको ठोरी दिपानगर पोष्टमा जाँदै गरेका चौधरीलाई बाटैमा गोली हानेका थिए । चोरी सिकारीको आशंकामा माडी बाँदरझुला गाउँका व्यक्तिहरुलाई समाएर कारवाही गरेको बदला लिन चौधरीको हत्या भएको निकुञ्जका अधिकारीहरुले बताउँदै आएका छन्।

‘निकुञ्ज इतिहासमा कर्मचारीको निकुञ्जभित्रै हत्या भएको यो पहिलो घटना हो । कामको सिलसिलामा संरक्षण विरोधीबाट हत्या भएका कारण उनलाई सहिद घोषणा गर्नु पर्छ’ चितवन राष्ट्रिय निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भनेका थिए । निकुञ्जले यस बारेमा त्यो बेलामा नै विभागमा पत्र पठाइ सकेको र विभागले पनि मन्त्रालयमा फाइल पठाइसकेको थियो।

विस २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । यसअघि बर्दिया राष्ट्रिय निकुञ्जमा पक्राउ गरेर ल्याउँदै गरेका १२ जना आरोपितले दुईजना सुरक्षाकर्मीको ज्यान लिएका थिए । बदला स्वरुप गोली नै हानेर  हत्या गरेको यो घटना पहिलो भएको चितवन निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए।

                ‘यो घटना भएपछि पूर्वमा भएको यस्तै एउटा घटनामा निधन भएका व्यक्तीलाई संरक्षण सहिद घोषणा गरिएको जानकारी आएको थियो। शेषचन्द्रको विषयमा भने सुनुवाई भएको अवस्था रहेन’ हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको चितवन निकुञ्जका तत्कालिन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने।

                विस २०२२ सालमा पुर्वी चितवनको रत्ननगरमा जन्मेका शेषचन्द्र ४३ सालदेखि निकुञ्जको जागिरमा प्रवेश गरेका थिए । उनी ६६ सालमा सिनियर गेमस्काउटमा बढुवा भएका थिए । गोली प्रहारबाट उनको घटना स्थलमै निधन भएको थियो । बाँदरमुढे घटना स्थल र शेषचन्द्रलाई गोली हानेको घटना स्थल माडी ठोरी हुलाकी मार्गमा नै पर्छ । दुवै घटना स्थलबीच लगभग १५ किलो मिटर दुरी छ।

 

प्रकाशित: १२ माघ २०७४ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App