२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अझै बनेन नेसपासँग एकताका लागि माओवादी समिति

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण गर्ने सहमतिअनुसार नेसपाले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा उच्चस्तरीय वार्ता संयोजन समिति गठन गरिसकेको छ। माओवादी केन्द्रले भने अझैसम्म त्यस्तो समिति गठन  गरेको छैन।

यही मंसिर १ गते दुई पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण गर्ने र त्यसका लागि थप प्रक्रिया अघि बढाउन माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालकै अध्यक्षता र नेसपाबाट भट्टराईको अध्यक्षतामा उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमति भएको थियो।

उक्त सहमतिअनुसार नेसपाबाट उच्चस्तरीय वार्ता समिति गठन भइसकेको तर माओवादीबाट अझै वार्ता समिति गठन हुन नसकेको नेसपाका महासचिव रमेश यादवले बताए।

‘उहाँहरूबाट उच्चस्तरीय वार्ता समिति गठन नभए पनि कृृष्णबहादुर महराको नेतृत्वमा गठित वार्ता समितिले काम गरिरहेको छ,’ यादवले भने, ‘सम्भवतः उहाँहरूले पनि चाँडै उच्चस्तरीय वार्ता समिति गठन गर्नुहुनेछ।’

माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्नुअघि नै माओवादीले विधान अधिवेशन बोलाई पार्टीको नाम फेर्नुपर्ने यादवले बताए। उनका अनुसार मंसिर १ गते बसेको बैठकमा माओवादीले पार्टीको नाम फेरेर नेकपा (समाजवाद) राख्ने सहमति भएको छ।

एक वर्षअघि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनअघि नै माओवादी र नेसपाबीच पार्टी एकीकरण गर्ने अनौपचारिक सहमति भएको थियो।

प्रकाशित: २४ मंसिर २०८० ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App