१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फूलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन थालेपछि चर्को विरोध

बुटवल-पुरातात्विक, सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण बुटवलको फूलबारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिएपछि स्थानीय स्तरमा चर्को विरोध भएको छ । गत फागुनमा सरकारले फूलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिएको हो ।

स्थानीय संघसंस्थाले फूलबारीको जग्गा फिर्ता गरेर अन्यत्र उपयुक्त ठाउँमा पेन्सन क्याम्पका लागि जग्गा उपलब्ध गराउन माग गरेका छन् । सरकारले अन्यत्र जग्गा व्यवस्थापन गर्न बेवास्ता गरे र भारतीय दूतावासले शिलान्यास भएको भन्दै क्याम्प बनाउन खोजे नक्सा स्वीकृत नगरी रोक लगाउन उनीहरुले बुटवल उपमहानगरपालिकासँग माग गरेका छन् । उपमहानगरको पहलकदमीले मात्रै पुराताŒिवक र पर्यटकीय स्थल जोगाउन सकिने उनीहरुको सुझाव छ ।

मणिमुकुन्द सेन उद्यान फूलबारीमा अस्थायी पेन्सन क्याम्प सञ्चालन गर्न दिन तत्कालीन बुटवल नगरपालिकाले २०५० सालमा ५० वर्षका लागि भाडामा दिएको १ बिघा १४ कट्ठा जग्गामा भारतीय दूतावासले अस्थायी क्याम्प सञ्चालन गर्दै आएको छ । यही ठाउँमा स्थायी पेन्सन क्याम्प बनाउन दिने निर्णय गर्दै मन्त्रिपरिषद्को गत फागुन दोस्रो साता बसेको बैठकले थप २३ कट्ठा जग्गा उपलब्ध गराएपछि विवाद उठेको हो । पेन्सन क्याम्पका लागि अन्यत्र जग्गा खोजी भइरहेका बेला सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फूलबारीमै जग्गा उपलब्ध गराउन भारतीय दूतावासले लामो समयदेखि लबिङ गर्दै आएको थियो । राजनीतिक अस्थिरता र संक्रमणकालको मौका छोपेर जग्गा हत्याउन सफल भए पनि संरचना बनाउन थाल्दा स्थानीय स्तरमा विरोध चर्किएको हो ।
फूलबारीमा स्थायी पेन्सन क्याम्पको भौतिक पूर्वाधार बनाउन २ अर्ब बढीको लगानी हुने पूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले जानकारी दिएको छ । महासंघका सहअध्यक्ष किसन थापाले त्यसमा बैंक, पोलिक्लिनिक, सुविधासम्पन्न विद्यालय, तालिम केन्द्रलगायतका संरचनासमेत निर्माण गरी सञ्चालनमा आउने जानकारी दिए । फूलबारीमा पेन्सन क्याम्प नबनाउन लबिङ गर्नेले पोलिक्लिनिक र विद्यालयका लागि फूलबारी उपयुक्त स्थल नभएको बरु उपयुक्त स्थल खोजी गरिदिने बताएका छन् ।

फूलबारीमा २०६० सालदेखि स्थायी पेन्सन क्याम्प बनाउने तयारी भए पनि जग्गा प्राप्त हुन नसक्दा यसअघि भारत सरकारले विनियोजन गरेको १ करोड २५ लाख भारतीय रुपैयाँ फ्रिज भएको थियो । हाल ६–६ महिनामा सञ्चालन हुने फूलबारीको अस्थायी पेन्सन क्याम्पबाट यस क्षेत्रका पूर्व भारतीय सैनिकले तीन अर्ब रुपैयाँ पेन्सन बुझ्छन् । स्थायी क्याम्पबाट वार्षिक १० अर्बभन्दा बढी रकम वितरण हुने बताइएको छ । पश्चिम नेपालका करिब ५० हजार भारतीय भूपू सैनिक र उनीहरुका परिवार लाभान्वित हुने महासंघका अध्यक्ष थापाले बताए ।

फूलबारीमा पेन्सन क्याम्प बनाउन रोक्न निरन्तर दबाबमूलक कार्यक्रम अघि बढाउने मणिमुकुन्द उद्यान परिषद्का अध्यक्ष खेम लुइँटेलले बताए । ‘यो बुटवलको पर्यटकीयमात्रै नभएर धार्मिक र पुरातात्विक दृष्टिले पनि निकै महत्वपूर्ण स्थल हो’, उनले भने ।

फूलबारीमा पाल्पाली राजा मणिमुकुन्द सेनको वि.सं. १५७५ मा बनेको शीतकालीन दरबार छ । दरबारको आँगन क्षेत्र र दरबारको सहायक वासस्थान क्षेत्र पेन्सन क्याम्पको पर्खालभित्र परेको छ । यही दरबारको उत्तरतर्फ हिन्दु र मुस्लिम समुदायको संयुक्त धार्मिक स्थल मजारथान छ । मजारथानमा बडादसैं र चैते दसैंको बेला भारतको मद्रासदेखि आएका तीर्थयात्री एक रात बास बसेर मुक्तिनाथ दर्शन गर्न जाने परम्परा छ ।

अहिले पेन्सन क्याम्पलाई सरकारले थप जग्गा उपलब्ध गराएपछि मजारथान जाने बाटो छेकिनेगरी तारबार लगाइएको छ । फूलबारीमै रहेको स्वामी नारायणको दर्शन गर्न भारतको गुजरातबाट हरेक वर्ष वैशाखमा दर्शनार्थी आउँछन् ।

‘नेपाल र भारतलाई जोड्ने धार्मिक र सांस्कृतिक सेतु फूलबारी हो । पेन्सन क्याम्पका लागि अन्यत्र जग्गा खोज्नुपर्छ’, बटौली संरक्षण समितिका अध्यक्ष रवीन्द्रगोपाल लाकौलले भने ।फूलबारी नेपाल—अंग्रेज युद्धताका प्रयोग भएको जीतगढी किल्लाको सिरानमा पर्छ । यही किल्लाबाट नेपालले अंग्रेज फौजलाई पराजित गरेको थियो । जीतगढी किल्लाबाट फूलबारी हुँदै नुवाकोट गढीसम्म सुरुङ रहेको भनिए पनि यसको उत्खनन र खोज हुन सकेको छैन । पुरातात्विक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण फूलबारीलाई जोगाएर राख्नुको साटो पेन्सन क्याम्प बनाउन दिने सरकारको निर्णय गलत भएको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए ।

तत्कालीन बुटवल नगरपालिकाका प्रमुख भोजप्रसाद श्रेष्ठको पालामा पेन्सन क्याम्प बनाउन २०५७ सालमा चारपाला सामुदायिक वन क्षेत्रको ८ बिघा र देवीनगरमा ६ बिघा जग्गा देखाइएको थियो । भारतीय पक्षले ती दुवै जग्गामा रुचि देखाएन । सामरिक दृष्टिले महत्वपूर्ण फूलबारीमै दीर्घकालीन प्रभाव पार्ने क्याम्प राख्न अन्यत्र रुचि नदेखाएको अहिले प्रस्ट भएको नागरिक अगुवा बिनबहादुर कुँवरले बताए । ‘पेन्सन क्याम्पका नाममा भारतले सामरिक दृष्टिले महत्वपूर्ण जीतगढी किल्ला र फूलबारी आफ्नो हातमा पार्ने योजना बनाइरहेको छ’, उनले भने । पूर्वनगरप्रमुख एवं प्रदेश सभासद् श्रेष्ठले पनि फूलबारीमा पेन्सन क्याम्प बनाउन  दिँदाको असर पर्यटकीय विकासमा मात्रै नभएर  सुरक्षाजस्तो संवेदनशील विषयसँग जोडिने बताए ।

स्थानीय बटौली संरक्षण संवद्र्धन समिति, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवल सामुदायिक वन उपभोक्ता समूहलगायत यहाँका दर्जन संघसंस्था फूलबारी बचाउने अभियानमा लागेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष लुइँटेलले उत्खनन र संरक्षण गरेकै क्षेत्रमा स्थायी क्याम्प निर्माण रोक्न सरकारको ध्यानाकर्षण गराइरहेको बताए । ‘हामीले स्थानीय सरकारको ध्यानाकर्षण गराइसकेका छौं, यो क्षेत्रका सांसदमार्फत  प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनेछौं, बुटवलको गौरव जीतगढी र फूलबारी जोगाउन हामी एकजुट छौं’, उनले भने  ।

केही महिनाअघि बुटवल उपमहानगरपालिकाको नगरसभामा सांसद एवं एमाले नेता विष्णु पौडेलले देवीनगरमा प्रशस्त जग्गा हुँदाहुँदै फूलबारीको पुरातात्विक स्थानमा पेन्सन क्याम्प राख्नु अस्वाभाविक भएको बताएका थिए ।फूलबारी जोगाउन लागिपरेका यहाँका संघसंस्थाले नयाँ सरकार बन्नेबित्तिकै थप लबिङ र ध्यानाकर्षण गराउँदै अघि बढ्ने तयारी गरेका छन् ।
 

प्रकाशित: ३ माघ २०७४ ००:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App