२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वामपन्थी शक्तिहरूबिच एकता आवश्यक: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले वामपन्थी शक्तिहरूबिच एकता र सहकार्यलाई बलियो बनाउने बताएका छन्।

वामपन्थी शक्तिहरूबिच एकतालाई अहिलेको समाजवादी मोर्चाले नेतृत्व गर्ने उनले बताए। समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बाहेक पनि अन्य कम्युनिस्ट पार्टीसँग सहकार्य गरिने बताए।

मन्त्री बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने दाबी गरे। नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तर्राष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिबद्धता जनाए। ‘अबको दुई वर्षभित्र नेपालले बिजुली आयात गर्दैन। बिजुली निर्यात मात्र गर्ने अवस्था बनाउँदैछौ।’ मन्त्री बस्नेतले भने।

मन्त्री बस्नेतले गत वर्ष नेपालले दश अर्बको बिजुली बेचेर बीस अर्बको आयात गरेकोमा यसपालि बिजुली निर्यात बढ्ने र आयात घटेको बताए। हालसम्म १४ अर्बको बिजुली निकासी भइसकेको र वर्षको अन्तसम्म यो १८ अर्ब पुग्ने मन्त्री बस्नेतले बताए। यो वर्ष एघार अर्बको मात्र बिजुली आयात हुने मन्त्री बस्नेतको दाबी छ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा स्थानीयलाई सेयर लगानीको व्यवस्था मिलाउने मन्त्री बस्नेतले जानकारी दिए।

संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउँदै नागरिकलाई अधिकार सम्पन्न गराउने प्रयासमा सरकार रहेको मन्त्री बस्नेतको भनाई थियो।

समाजवादी मोर्चाका केन्द्रीय सचिव तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले संविधान र लोकतन्त्रलाई संस्थागत गर्न प्रगतिशील शक्तिहरूबिच सहकार्य हुनुपर्ने बताए।

संघीय व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउँदै नेपालमा राजतन्त्र फर्काउने खेल सफल नहुने र लोकतन्त्रको विकल्प नभएको हमालको भनाई थियो।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दी जस्तो दुर्गम र विकट जिल्लाका लागि संघीय व्यवस्था वरदान साबित भएको बताए।

‘म्याग्दीको गुर्जा बाहेक सबै ठाउँका साढे बाइस सय घरमा विद्युतिकरण गर्न बीस करोड ५१ लखको ठेक्का सम्झौता भएर काम सुरु भएको छ। गण्डकी प्रदेश सरकारबाट मात्र म्याग्दीमा यस वर्ष सडक स्तरोन्नति र पुलका लागि एक अर्ब २५ करोडको बहुबर्षीय ठेक्का लाग्दैछ,’ उनले भने।

उनले थपे ‘हिजो एउटा गाविसमा २५/३० लाख बजेट आउँथ्यो। अहिले एउटै वडामा करोड भन्दा बढीको योजना भित्रिएको छ। विकासको गतिविधि गाउँ गाउँमा बढेको छ। सहरको विकास गाउँमा पुग्न थाल्नु नै संघीयताको उपलब्धि हो।’

कार्यक्रममा नेकपा रणवीर (सि), भरत (सि), नेकपा एकीकृत समाजवादीका गोविन्द सुवेदी र कृष्णकुमार विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए।

मोर्चाको आवश्यकता र योजनाको विषयमा नेता कार्यकर्ताहरुलाई जानकारी गराउँदै प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपाका नेता गोपाल पौडेलले बताए।

प्रकाशित: २३ मंसिर २०८० १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App