२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रञ्जु दर्शना र रवीन्द्र मिश्रको सवाल–जवाफ

विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना र राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच ट्विटर (एक्स) मा सवाल–जवाफ चलेको छ।

सुरुमा रञ्जुले हिमालखबरमा प्रकाशित रविन्द्रसँगको अन्तर्वार्ताको लिङ्क राख्दै ‘एउटा प्रश्न छुट्यो १’ भनेर मिश्रलाई प्रश्न तेर्स्याएकी छन्।

जसमा भनिएको छ, ‘तपाईँको चाँडै सत्ता प्राप्तिको मोह र अस्पष्टताले पार्टीको दुर्दशा हुँदा क्षमता भएका विवेकशील साझाका युवाहरू पनि विदेशिन बाध्य भए ! तपाईँलाई यो कुराको बोध कत्तिको हुन्छ ?’

त्यसपछि मिश्रले रञ्जुको पोस्टलाई सेयर गर्दै लामै जवाफ दिएका छन्। उनले रञ्जुप्रति ठूलो स्नेह र श्रद्धा हुनाले मात्र जवाफ दिएको उल्लेख गर्दै अगाडि लेखेका छन्,‘हो, मैले बीचमा तपाईँहरूको विमति र धेरै ठूलो जमातको छिछि–दुरदुरका अलावा मार्ग परिवर्तन गरेँ। तर त्यो परिवर्तन तपाईँले आरोप लगाउनुभएजस्तो सत्ता प्राप्तिको मोह र अस्पष्टताले थिएन।’

मिश्रले ‘व्यक्ति जित्ने देश हार्ने’ राजनीति गर्दिनँ, यो देश र युवालाई भविष्यमा घात हुने काम गर्दिनँ भन्ने दृढताले मार्ग परिवर्तन गरेको दाबी गरेका छन्।

‘यदि सत्तामै पुग्ने रहर थियो भने मसँग कम्तीमा तीन अन्य विकल्प थिए र ती विकल्पबाट मलाई सत्तामा पुग्न कसैले रोक्न सक्ने थिएन,’ मिश्रले लेखेका छन्,‘सत्तामा जान यत्रो छिछि–दुरदुर सहनु पर्ने थिएन।’

रञ्जु वैकल्पिक दलको नारासहित उज्वल थापाको नेतृत्वमा अभियान्ताहरूले गठन गरेको तत्कालीन विवेकशील नेपाली पार्टीबाट २०७४ को स्थानीय तह निर्वाचनमा लोकप्रिय मत पाएकी पात्र हुन्।

त्यसलगत्तै मिश्रको अगुवाइमा गठन भएको साझा पार्टी र विवेकशील नेपाली पार्टीको एकीकरण भएर विवेकशील साझा पार्टी बनाइएको थियो। तीन वर्षअघि विवेकशील पार्टीका संस्थापक थापाको निधन भएपछि एकीकृत पार्टीमा मिश्र एकलौटी शक्तिशाली बनेका थिए। त्यस क्रममा उनले विचारभन्दा माथि देश भन्ने राजावादी अवधारणा अगाडि सारेपछि विवाद बढ्दा गणतन्त्रकै लाइनमा रहेका तत्कालीन संयोजक मिलन पाण्डे, पुकार बम, रञ्जु लगायतका विवेकशील अभियन्तालाई मिश्रले कारबाही समेत गरेका थिए। त्यसपछि विवेकशील साझा पार्टी निकै कमजोर बन्न पुगेको थियो।

आफ्नो पार्टी कमजोर भएपछि मिश्र राप्रपामा प्रवेश भएका थिए।

प्रकाशित: १५ मंसिर २०८० ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App