६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मतपरिमाण सार्वजनिकको माग गर्दै युवा विद्यार्थी बहसमा

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फको मत सार्वजनिक गर्नुपर्ने माग राख्दै युवा–विद्यार्थीले सडकमा नै बहस गरेका छन् ।

एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी संगठनले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको मत सार्वजनिक गर्न ढिलासुस्ती गरेको भन्दै सडक बहस गरेका हुन् ।

नयाँ बानेश्वरमा आयोजित ‘आयोगको ढिलासुस्ती र विद्यार्थी आन्दोलन’ विषयको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिंडारीले निर्वाचन आयोगले मतपरिमाण नगरेर जनादेशको अपमान गरेको आरोप लगाउँदै संविधानले प्रतिनिधिसभाको मतपरिमाण सार्वजनिक गर्न कुनै अवरोध नगरेकाले तत्काल मतपरिमाण सार्वजनिक गर्नुपर्ने बताए।

कार्यक्रममा एमालेका नेता खिमलाल भट्टराईले जनताभन्दा माथि कोही नभएकाले जनमतको कदर गर्नका लागि तत्काल आयोगले मतपरिमाण सार्वजनिक गर्नुपर्ने बताए।
अनेरास्ववियु (क्रान्तिकारी) पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले राजनीतिक परिवर्तनका संवाहक विद्यार्थी लोकतन्त्र बचाउन पुनः बाध्य भएर सडकमा आउनुपरेको बताए।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले निर्वाचन भएको एक महिना बित्दा पनि आयोगले मतपरिमाण सार्वजनिक नगरेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए।

विद्यार्थीले बुधबारदेखि निर्वाचनको मतपरिमाण सार्वजनिक माग गर्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित: २१ पुस २०७४ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App