१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

यस्तो छ संसद् बैठकमा सिट व्यवस्थापन

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद बैठकका लागि नयाँ संरचनाअनुसार सिट बन्दैछन्। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा सांसद, दर्शक र पत्रकार बस्ने सिट बाँडफाँट गरेको छ। प्रतिनिधिसभा २ सय ७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय हुने भएकाले सोहीअनुसार सिट बाँडफाँट गरिएको छ। दुवै सभाको संयुक्त बैठकका लागि  प्रतिनिधिसभाको बैठक हल प्रयोग गरिने भएको छ।

प्रतिनिधिसभा हलमा संयुक्त बैठक बस्न पुग्ने गरी कुर्सी राखिएको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए। संयुक्त सदनका लागि प्रतिनिधिसभा सदस्यको सिटपछाडि राष्ट्रियसभाका सदस्यका लागि तीन पंक्तिमा सेता कुर्सीहरु राखिएका छन्। तीन पंक्तिमध्ये बीचमा २८ सिट र छेउका दुई पंक्तिमा १४–१४ सिट छन्। त्यसभन्दा पछाडि दर्शक र पत्रकारका लागि सिट राखिएको छ।

प्रतिनिधिसभा बैठक लागि चार पंक्तिमा कुर्सी राखिएका छन्। एउटा पंक्तिमा ७२ सिट छन्। यसअघि संसद् संख्या ६ सय १ रहेकाले ६ वटा पंक्तिमा विभाजन गरिएको थियो। अहिले दुवै छेउबाट एकएक पंक्ति घटाई चारवटा कायम गरिएको छ। तर कुर्सी भने हटाइएको छैन। ती दुई पंक्ति आवश्यक नभए पनि तत्कालै कुर्सी नहटाइने संसद् सचिवालयले जनाएको छ। सभामुखको ड्यासबाट देब्रेतर्फको पहिलो र दोस्रो पंक्तिको ७२– ७२ सिट प्रतिपक्षका लागि छुट्ट्याइएको छ । सभामुखको ड्यासबाट दाहिनेतर्फ तेस्रो पंक्तिको ७२ सिट र चौथो पंक्तिको ७२ सिट सत्तापक्षका लागि छुट्ट्याइएको छ । प्रतिनिधिसभाको सिट आकाशे रङका छन्।

राष्ट्रियसभा बैठक नुप्त्से हलमा बस्ने व्यवस्था मिलाइएको छ । उक्त हलमा तीनवटा पंक्तिमा रातो रङका कुर्सी राखिएका छन् । अध्यक्षको ड्यासबाट बीचको पंक्तिमा ४० सिट र अध्यक्षको ड्यासबाट दायाँबायाँ पंक्तिमा २०–२० सिट राखिएका छन् । अध्यक्षको ड्यासबाट बीचको ४० सिट र दाहिनेतर्फको तेस्रो पंक्तिको २० सिट सत्तापक्षका लागि छुट्ट्याइएको छ । अध्यक्षको ड्यासबाट देब्रेतर्फको २० सिट विपक्षका लागि राखिएको छ । त्यसभन्दा पछाडि तीन पंक्तिमा कर्मचारीका लागि ४० सिट छुट्ट्याइएको छ । त्यसपछि दर्शक र पत्रकारका लागि तीन पंक्तिमा कुर्सी राखिएको छ । अध्यक्षको ड्यासबाट बीचको पंक्तिमा ५० सिट र अध्यक्षको ड्यासबाट दाहिने पंक्तिमा २५ सिट दर्शकका लागि तोकिएको छ । अध्यक्षको ड्यासबाट देब्रेतर्फको पंक्तिमा २५ सिट पत्रकारका लागि राखिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको सिट विभाजन तथा मर्मतका लागि अर्थ मन्त्रालयले  संसद् सचिवालयलाई ३ करोड ५० लाख उपलब्ध गराएको छ । राष्ट्रियसभाको हल निर्माण गर्दा दुई करोड खर्च भएको सचिवालय स्रोतले जानकारी दियो।

 

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद बैठकका लागि नयाँ संरचनाअनुसार सिट बन्दैछन्। तस्बिर: दिपेश श्रेष्ठ
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद बैठकका लागि नयाँ संरचनाअनुसार सिट बन्दैछन्। तस्बिर: दिपेश श्रेष्ठ
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद बैठकका लागि नयाँ संरचनाअनुसार सिट बन्दैछन्। तस्बिर: दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App