२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

दिपायल राजधानीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडियो)

डोटी– ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरतबहादुर खड्का, नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवा राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष लाल बहादुर कठायतलगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री देउवाको सकारात्मक प्रतिक्रिया आएको सांसद खड्काले बताए । ‘हामीले डोटीका औचित्यका साथ ज्ञापनपत्र पेस ग¥यौं । त्यसबारे सम्माननीय प्रधानमन्त्रीज्यु आफैँपनि विज्ञ हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि उहाँले हामीलाई राजधानीको औचित्य र सबैको भावनालाई कदर गर्दै निर्णय लिन्छौं भनेर भन्नुभएको छ ।’

प्रधानमन्त्री देउवाले राजधानीका विषयमा भइरहेका आन्दोलन र जनताको धारणाका बिषयमा पनि जिज्ञासा राखेको सांसद खड्काले बताए । ‘उहाँको प्रश्नमा हामी अस्थायी राजधानी तपाईँ दिपायल तोकिदिनुस् कसैले विरोध गर्दैन । त्यसपछिको संवैधानिक प्रक्रिया हुँदैगर्छ हामीले उहाँसँग (प्रधानमन्त्री) भन्यौं,’ उनले भने ।

प्रधानमन्त्रीसँगको भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बलायरले सबै पहाडी जिल्लाको संवेदना र तराईमा बसोबास गर्ने अधिकांश बासिन्दाहरुको सद्भाव पनि एकैठाउँमा रहेको बताएका छन् । प्रतिनिधि मण्डलले सार्वजनिक गरेको भिडियोमा मन्त्री बलायरले ‘धनगढीमा पनि डोटीका लागि आन्दोलन भएको’ र ‘सबै पहाडी जिल्ला एक ठाउँमा भएको’ भन्ने अभिब्यक्ति दिएका छन् ।

प्रदेशको राजधानी माग गर्दै दिपायलमा १० दिनदेखि लगातार आन्दोलन भइरहेको छ । पछिल्लो तीन दिनयता आन्दोलनले ‘आमहड्ताल’को रुप लिँदा जनजीवन प्रभावित बनेको छ । 

प्रकाशित: २१ पुस २०७४ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App