२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अस्थायी राजधानीसमेत नतोकिँदा प्रदेशसभा सांसद अलमलमा

काठमाडौं – दोस्रो चरणको प्रदेशसभा सदस्यको निर्वाचन भएको शुक्रबार ठीक एक महिना हुँदैछ। तर प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष्यमा निर्वाचित ३ सय ३० प्रदेशसभा सदस्य भने सपथ ग्रहण नहुँदा र अस्थायी राजधानी नतोकिदा  अलमलमा परेका छन्। 

प्रदेश प्रमुखको मनोनयन नहुँदा प्रदेशसभामा सभामुख तोक्ने तथा सदस्यको सपथ लिने प्रक्रिया अघि बढ्न  सकेको छैन । यसैगरी अस्थायी राजधानी नतोकिँदा उनीहरू अन्योलमा परेका छन् । यतिखेर निर्वाचित भएका प्रदेशसभाका सदस्यहरू  कहिले काठमाडौं  र कहिले जिल्ला धाउने गरेका छन् । काठमाडौं आएका बेला उनीहरू पार्टी कार्यलय गएर समय बिताउने गरेका छन् । जिल्लामा हुँदा  मतदातासँगको भेटघाटमा समय बिताउने गर्छन्।

सप्तरी २(ख)बाट प्रदेशसभामा निर्वाचित मनिष सुमन प्रदेश प्रमुख र अस्थायी मुकाम नतोकिँदा आफूहरू अलमलमा परेको बताए । ‘हामीसँग निर्वाचन अधिकृतले दिएको  प्रमाण पत्र त छ तर सपथग्रहण गर्न ढिलो हुँदा अलमलमा परेका छौं,’ उनले भने । अहिले उनी सप्तरीमै छन् । अहिले  उनी मतदातासँग भेटघाट र धन्यवाद दिने कार्यक्रममा दिनहुँजसो व्यस्त हुने गरेका छन् ।  यसैगरी महोत्तरी २(ख)बाट प्रदेशसभामा निर्वाचित भएकी सुरिता साह बिहीबार दिनभर राजपा पार्टी कार्यलय बबरमहलमा भेटिइन् । प्रदेशसभा सदस्यको सपथ नलिँदा उनी पनि अलमलमा परेकी छन् । ‘चुनाव जितेर आएको एक महिना भइसकको छ । न सपथ ग्रहण भएको छ, न त  प्रदेश राजधानी नै तोकिएको छ । हामीले काम गर्न पाएनौं,’ उनले भनिन्। 

पहिलोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा प्रदेशसभाका सदस्य निकै उत्साहित भए पनि एक महिना सम्म पनि काम गर्न नपाउँदा भने निराश र सरकारसँग आक्रोशित भएका छन् । एमालेबाट कैलाली ४(क)बाट प्रदेशसभामा निर्वाचित भएका दीर्घ सोढारीले वर्तमान सरकारले नै अन्योल उत्पन्न गराएको भन्दै सरकासँग आक्रोश पोखे । ‘देउवा सरकारले नै हामीलाई अन्योल उत्पन्न गराएको छ । सरकारले गतिरोध उत्पन्न गराउन चाहेकोछ। ’ 

नेपाली कांग्रेसबाट हुम्ला (ख)बाट प्रदेशसभामा विजयी जीवनबहादुर शाहीले भने राजनीतिक सहमति नहँदा अस्थायी राजधानी नतोकिएको र सपथग्रहण नभएको बताए । ‘सपथग्रहण नहुँदा र अस्थायी राजधानी नतोकिँदा हामी अलमलमा परेका छांै तर राजनीतिक सहमति नजुट्दा सरकारले निर्णय गर्न नसकेको हो,’ उनले भने। 

राजपाबाट सिराहा ४(ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुरेश मण्डलले पनि सपथ ग्रहण नहुँदा आफूहरू अलमलमा परेको बताए । उनले भने, ‘अब जतिसक्दो चाँडो सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्छ । अस्थायी राजधानी नतोकिँदा हामीहरू अलममलमा परेका छौं।’

यसैगरी बारा १ (ख)बाट प्रदेशसभामा  निर्वाचित सरोज यादव अहिले आफनै गृह जिल्ला बारा १ मा छन् । उनी केही दिनपछि काठमाडांै आउने भएकाछन् । उनी भन्छन्, ‘अब अलमल बढाउँनु हँुदैन । जतिसक्दो चाँडो सपथग्रहण र अस्थायी राजधानी तोकिनुपर्छ।

कसले खुवाउछ सपथ ?  
प्रदेशसभा निर्वाचन सम्बन्धी  ऐन २०७४ मा प्रदेशसभा सदस्यले प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिसँग सपथ लिने  व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता प्रदेशसभा सदस्यमध्ये जेष्ठताका आधारमा गर्ने ऐनमा व्यवस्था छ । प्रदेशसभाका सभामुखले भने  प्रदेश प्रमुखसँग सपथ लिने प्रावधान संविधानमा छ । प्रदेश प्रमुखको नियुक्त हुन नसक्दा प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभाको बैठकको आव्हान गर्ने काम पनि प्रदेश प्रमुखले गर्ने व्यवस्था संविधानले तोकेको छ । यसैगरी प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाउने र अन्तिम परिणाम बुझेको २० दिनभित्र प्रदेशप्रमुखले प्रदेशसभा बैठकको बोलाउने संविधानमा व्यवस्था छ  ।  तर प्रदेश प्रमुखको नियुक्ती हुन नसक्दा निर्वाचन आयोगले प्रदेशसभाको चुनावको अन्तिम परिणाम बुझाउन सकेको छैन।

सोमबारसम्म प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छ : सरकार
सकारले भने आगामी सोमबारसम्म सातवटै प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने बताएको छ । यसैगरी राष्ट्रियसभाको निर्वाचनको मिति पनि सँगसँगै तोकिने सरकारको भनाइ छ । बाणिज्यमन्त्री मीन विश्वकर्माले आगामी मन्त्रिपरिषद् बैठकबाट अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रियसभाको निर्वाचन मिति  तोकिने बताए । उनले भने, ‘आजै (बिहीबार) मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुने भनिएको थियो । बैठक बस्न सकेन । अबको मन्त्रिपरिषद् बैठकबाट अस्थायी राजधानी, प्रदेश प्रमुखको मनोयन र राष्ट्रियसभाको निर्वाचनको तिथि तोकिन्छ ।’ बिहीबार बसेको  सर्वदलीय बैठकमा अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको मनोयन गर्ने अधिकार सरकारको भएको पार्टीहरूको निष्कर्ष रहेको बताउँदै उनले भने, ‘अब सरकारलाई अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रियसभा निर्वाचनको तिथि तोक्न बाटो खुला भएको छ ।’ आगामी सोमबार मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना रहेको स्रोतको भनाइ छ । 

प्रकाशित: २१ पुस २०७४ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App