१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्व राजालाई एमाले सचिव भट्टराईको पनि चुनौती, भनेः जस्केलाबाट नछिर्नुस

नेकपा एमालेका सचिव तथा प्रतिनिधिस भाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्। उनले पूर्वराजालाई जस्केलाबाट नछिर्न पनि सुझाव दिए।

पत्रकार महासंघ ताप्लेजुङले आज बिहान फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले केहि नभए पूर्व राजालाई आफुसंग भएको सम्पत्ति राष्ट्रिय उद्योगमा लगानी गरेर उद्यम सृजनामा केन्द्रित हुन समेत चुनौती दिए।

‘पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउने र नपाली जनताको समृद्धिको चाहनामा अवरोध सृजना गर्ने कार्य कुनै हालतमा सैह्य हुदैन’ भट्टराईले भने। राजसंस्थाको अन्त्य पूर्व राजा ज्ञानेन्द्रको अनुत्तरदायी र निरकुंशताको कदमको प्रतिफल भएको उनको ठम्याई थियो।  

विद्यमान व्यवस्था बिरोधी हर्कत हुँदा समेत सरकार रमिते बनेको भन्दै भट्टाईले बर्तमान सरकारको बिगठन अनिवार्य रहेको बताए। यो अवस्थामा समेतमा सरकार चुप लागेर बस्नुको पछाडि सरकार माथि शंका गर्न सकिने प्रसस्त आधार रहेको उनको भनाइ छ।  

व्यवस्था विरोधी हर्कत भइरहँदा सरकारको धारणा नआउनु आफैंमा रहस्यको बिषय रहेको भट्टराईले दावी गरे। ‘म नेपाली काँग्रेसका साथीहरुलाई समेत आग्रह गर्छु, अहिले यो त एमाले माथिको दबाब न हो भनेर खुच्चिङ मान्ने अवस्था होईन’ तपाँईहरुको पनि यसका बारेमा धारणा के छ? खुल्ला रुपले प्रस्तुत हुनुहोस्,चुप लागे काँग्रेस पनि जोगिदैन’ भट्टराईले भने।  

उनले व्यवस्था जोगाउने प्रकृयाका लागि विगतमा काँग्रेस र एमाले मिल्दाको उन्नत परिणाम अहिलेको समयमा पनि आवश्यकताको रुपमा देखिन थालेको समेत बताए। आजको संविधान,व्यवस्था र लोकतन्त्रको पहरेदार एमाले भएकै कारण एमाले माथि निसाना लगाउन थालिएको समेत भट्टराईले दावी गरे।  

‘मध्यावधि रोक्नै चाहेको भए एमालेसंगको सहमतिमा फर्कनुहोस्’

कोशी प्रदेशको संसदीय अवस्था चित्रित गर्दै एमाले सचिव भट्टराईले मध्यावधि निर्वाचन रोक्नै चाहेको भए एमालेसंग भएको सहमतिमा फर्कन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सुझाव दिएका छन्।  

प्रतिस्थापान विधयेकमार्फत तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ल्याएका लोकप्रिय बजेट काटेर मुन्यमन्त्री कार्की सम्झौता उल्लंघनमा एकपछि अर्को रुपले प्रस्तुत भएको भट्टराईको आरोप थियो। एमालेसँगको सम्झौतामा नफर्किए कोशी प्रदेश मध्यावधिको निर्वाचनको बाटोतर्फ अग्रसर हुन्छ नै,एमाले त्यो सामना गर्न पनि तयार छ’ उनले भने।  

कोशी प्रदेश नामाङ्कनको विषय संबैधानिक बाटो र संसदीय प्रक्रियाबाट हल गर्न भट्टराईले आग्रह गरेका छन्। प्रदेशसभालाई के गर्दा राम्रो हुन्थ्यो,नामाङ्कन कसरी गर्दा उपयुक्त हुन्थ्यो भन्ने विषय प्रदेशसभाको क्षेत्राधिकारको बिषय भएकोले कोशी प्रदेश नामाङ्कनको बिषय संबैधानिक बाटो र संसदीय प्रकृयाबाट हल गर्नुपर्ने भट्टराईले बताए।  

काँग्रेस,एमाले र माओवादी सहित जनता समाजवादी पार्टी समेतको सल्लाहमा तत्कालिन मुख्यमन्त्री कार्कीले प्रदेश नामाङ्कनको प्रस्ताव अघि सारेको जानकारी आफुले पाएको उनको भनाइ छ। उनले नामाङ्नको समयमा सहमति दिने र पछि निर्णयबाट फर्कन खोज्ने प्रवृत्ति गलत भएको उनको आरोप थियो।  

‘सरकारले प्रदेश नामाङ्नको विषय संसदमा टेबुल गरे हामी त्यो विषयमा त्यहिँ छलफल र निर्णय छौं’ भट्टराईले भने। उनले आफ्ना नेता कार्यकर्ताहरु माथि बारबार भौतिक आक्रमण गरिरहँदा सरकार किन मौन भनेर भनेर प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्दा आफुसहितका एमाले नेताहरु माथि ‘निशेध’ को हल्ला चलाईएको दुखेसो पोखे।  

उनले भने, ‘निशेधको राजनीति कुनैपनि अर्थमा उपयुक्त हुँदैन र पहिचानलाई अनादर हुनेगरी बोलेको पनि छैन’। गत जेठ २६ गते प्रतिनिधिसभाका बोलेको विषयलाई लिएर पहिचान पक्षधरहरुले भट्टराईको विरोध गर्दै आईरहेका छन्। कार्यक्रममा प्रतिनिधिसभाका सांसद तथा एमाले केन्द्रीय सदस्य उर्मिला थेबेले सरकारले जनताको पक्षमा केहि काम गर्न नसकेको तथा बिपक्षी सांसदहरुका योजना पूर्वाग्रही ढंगको काटेको आरोप लगाईन् ।‘सरकार गठबन्धनकै भएपनि आर्थिक ढुकुटी त राज्यकै होला,तर सरकार किन यति पूवाग्रही’सरकारलाई उनले प्रश्न गरिन्।  

एमालेबाट प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको संयोजनमा आइतवार एमाले ताप्लेजुङले चियापान कार्यक्रम राखेको छ। नेताहरु त्यहिँ कार्यक्रमका लागि फुङलिङमा भेला भएका छन्।  

प्रकाशित: १० मंसिर २०८० ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App