१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओली र दाहालले भने: वाम गठबन्धन टुटाउने प्रयास भएको छ

काठमाडौँ (रासस)-  वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोशिश भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन्।

नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित तथा उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उनीहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिएका हुन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “वाम गठबन्धन सफल हुन नदिन धूमधाम खेल भइरहेको छ, पाँच वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन बिगार्ने प्रयास मात्र हो।”

अध्यक्ष ओलीले नेपाललाई आश्रित र दमित मुलुकका रुपमा नभई स्वाधीन मुलुकमा रुपमा अघि बढाउन भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध विस्तार गरेर आगामी सरकार अघि बढ्ने जनाए। उनले नेता गौतमको पुस्तकमा उल्लेख भए झैँ समृद्धिका लागि द्रुत गतिमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि बताए।  

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायित्व र विकासका लागि वाम गठबन्धनले ल्याएको बहुमत ऐतिहासिक अवसर भएकाले तीव्र गतिमा नेपाल निर्माणको महाअभियान सञ्चालन गर्न होमिनुपर्ने बताए।  

उनले पुस्तकमा शान्ति प्रक्रियासम्म आफूहरु आइपुग्दाका प्रयासलाई पुस्तकले पर्याप्त समेट्न नसकेको तर आगामी विकासको बाटोलाई राम्रोसँग प्रस्तुत गरेको टिप्पणी गरे।  

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा विकासमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै पुस्तकले ती पक्षलाई सम्बोधन गरेको बताए।

उनले सम्पन्न निर्वाचनमा पैसाको खेल हुनु लोकतन्त्रको दुरुपयोग हो भने।  लेखक गौतमले आफूले एक दशक लगाएर तयार पारेको पुस्तकको मूल भाव नेपालमा प्रशस्त सम्भावना भए पनि विकासबाट पछाडि पर्नुका कारण समेत खोतलिएको बताए। बुक मार्ट प्रालिद्वारा प्रकाशित २३५ पृष्ठको उक्त पुस्तकमाथि साहित्यकार मोदनाथ प्रश्रित, संविधानविद् डा युवराज संग्रौला, पूर्वाधार विज्ञ डा सूर्यराज आचार्य, अर्थविद् डा डिल्लीराज खनाललगायतले टिप्पणी गरेका थिए।

 

प्रकाशित: १५ पुस २०७४ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App