२९ श्रावण २०७७ बिहीबार
राजनीति

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

काठमाडौं– नेपाली कांग्रेसमा प्रदेशसभातर्फ समानुपातिक सांसद छनोटलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार अबेरमात्र निर्वाचन आयोगमा अन्तिम सूची बुझाइएको छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच नाम छनोटमा सहमति जुट्न नसक्दा ढिलोगरी अन्तिम सूची बुझाइएको हो ।

आयोगले अन्तिम सूची बुझाउन दिएको समय सकिने दिने शुक्रबार बिहान ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकमा कांग्रेस सभापति देउवाले एक्लौटी नाम छनोट गरेको भन्दै नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह बैठक छाडेर बाहिरिएका थिए । उनीहरू हिँडेपछि पनि बैठकले समानुपातिकको अन्तिम सूची  तयार गरेको थियो । बैठकमा पौडेलनिकट मानिएका अन्य नेताहरू भने सहभागी थिए । 

प्रदेश दुईमा प्रदेशसभामा आफूनिकट व्यक्तिहरू निकै कम समेटिएपछि रुष्ट बनेका पौडेल र सिंहले बैठक छाडेर हिँडेको स्रोतको दाबी छ । कांग्रेसले पाउने ११ प्रदेशसभा सदस्यमध्ये पौडेल पक्षले तीनमात्र पाएपछि उनले बैठक छाडेका हुन् ।
त्यस्तै पार्टी केन्द्रीय समिति निर्णयविपरीत समानुपातिक सांसदमा नाम दोहो¥याएकोमा पनि पौडेलले असन्तुष्टि जनाएका छन् ।

प्रदेश नम्बर तीनबाट गीता वाग्लेलाई पुनः समानुपातिकबाट सांसद बनाउने निर्णयपछि उनले असन्तुष्टि पोखेका हुन् ।  
दुवै पक्षका नेताहरू आफूनिकटलाई सांसद बनाउन दिनभरि सक्रिय रहँदा कांग्रेसले राति नौ बजेपछिमात्र आयोगमा अन्तिमसूची बुझाएको छ ।

नाम छनोटमा ढिला हुने भएपछि कार्यसम्पादन समिति सदस्य एवं पार्टी केन्द्रीय सदस्य मानबहादुर विक र केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसले दिउँसो २ बजे नै निर्वाचन आयोग कुर्नका लागि पठाएको थियो ।पार्टीले नाम छनोट गर्न ढिला गरेपछि आयोगमा कुरेर बसेका  नेता विकसमेत पौने आठ बजे घर हिँडेपछि केसी एक्लै आयोगमा कुरेर बसेका थिए । 
   

 

प्रकाशित: १५ पुस २०७४ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App