२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अराजक गतिविधिलाई एमालेको टेको

सरकारविरुद्धको आन्दोलन घोषणा गरेको एमालेका कार्यकर्ताले राति बास बसेका महिलालाई लखेटेर अमानवीय व्यवहार प्रदर्शन गरेका छन्। एमाले कार्यकर्ताले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनमा सहभागी हुन आएका महिलालाई मंगलबार राति सुतिरहेको स्थान भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट लखेटेको आरोप छ। एमालेका कार्यकर्ताले ती महिलालाई लखेटेर अमानवीय व्यवहार गरेको भनिएको भिडियो बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसलाई एमाले नेतृत्व र संघले अस्वीकार गरेको छ।

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्यकै नेतृत्वमा राति बास बसेका महिला लखेटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले घुसपैठ भएको हुन सक्ने बताएर पार्टीभित्रको अराजकतालाई बल दिएका छन्।

एमाले केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा अध्यक्ष ओलीले युवा संघका अराजक कार्यकर्तालाई संरक्षण गर्नेगरी अभिव्यक्ति दिएर यो घटनालाई ढाकछोप गर्न खोजेका हुन्। ओलीको यस्तो अभिव्यक्तिले सिंगो पार्टी जीवनमा नकारात्मक सन्देश प्रवाह भएको छ।

बैठकमा ओलीले युवा संघले यस्तो क्रियाकलाप गर्न नसक्ने बताए। ‘आज बिहान एउटा भिडियो आएपछि मैले युवा संघलाई सोधेको थिएँ। युवा संघले पनि भिडियो हेरेर थाहा पायौं भन्छ। हाम्रो कुनै संलग्नता छैन भन्छ। यो आफैं बिरामी, आफैं झाँक्री के भन्छ नि! त्यस्तै कुरा हुन सक्छ।

संघले यस्तो खालको क्रियाकलाप युवा संघको होइन, हुन सक्दैन, हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन, अध्ययन गर्दैछौं भनिसक्याछ। आफ्नो संलग्नता नभएको युवा संघले मलाई बताएको छ,’ ओलीले भने।

ओलीले एमालेभित्र रहेर गल्ती गर्ने छुट कसैलाई नभएको बताउँदै गर्दा राति बास बसेका महिलालाई लखेट्ने कार्यमा युवा संघका सचिवालय सदस्य विनोद राईको संलग्ता भएको भिडियो भाइरल भइरहेको थियो। युवा संघले दिउँसो प्रेस विज्ञप्ति जारी गरे यो घटनामा संघको संलग्नता नभएको दाबी गरेको थियो।

प्रसाईं नेतृत्वमा हुन लागेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मा सहभागी हुन काठमाडौं उपत्यका बाहिरबाट आएका समर्थकलाई खेद्न युवा संघका सचिवालय सदस्य राई पुगेको भिडियो स्वयं उनैले राति आफ्नो फेसबुकमा राखिसकेका थिए। तर बुधबार दिउँसो सो भिडियोलाई उनले फेसबुकबाट हटाएका थिए। महिला बसेको पार्टी प्यालेसमा उनलाई कसले पठायो भन्ने खुलेको छैन।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट उक्त घटनामा युवा संघको संलग्नता नभएको अभिव्यक्ति आएपछि राईलाई व्यक्तिगत रूपमा राहत भए पनि पार्टीलाई भने क्षति पुगेको धारणा एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा राखिरहेका छन्।

एमाले पोलिटब्युरो सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले पनि घटनामा संघको संलग्नता नभएको भन्दै ढाकछोप गरिरहेका छन्। उनले घटनामा स्थानीय बासिन्दाको संलग्नता रहेको भन्दै संघलाई जोगाउन खोजेका छन्। युवा संघका अध्यक्ष क्षितिज थेवेले पनि घटनामा संघको संलग्नता अस्वीकार गरेका छन्।

एमालेका उपल्लो तहका नेताको निर्देशनमा राई केही कार्यकर्तासहित लोकन्थलीस्थित एक पार्टी प्यालेसमा पुगेर त्यहाँ सुतिरहेका महिलामाथि दुर्व्यवहार गरेको स्रोतको दाबी छ।

प्रसाईंले आह्वान गरेको मंसिर ७ गतेको विरोध प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौं आएर पार्टी प्यालेसमा बसेका महिलालाई युवा संघका कार्यकर्ताले मध्यरातमा लखेटेका हुन्।

पार्टी र संघले यसलाई अस्वीकार गरे पनि भिडियोमा नदेखिएका तर बोलिरहेका व्यक्ति युवा संघका सचिवालय सदस्य राई भएको संघकै एक नेताले बताएका छन्। ती नेताका अनुसार खोटाङ स्थायी घर भएका राई माओवादीबाट एमालेमा प्रवेश गरेका हुन्। उनी केही समय नेत्रविक्रम चन्द नेतृत्व गरेको नेकपामा पनि सक्रिय भएका थिए। रमेश पौडेलले उनलाई एमालेमा प्रवेश गराएका हुन्।

भिडियोमा त्यो पार्टी प्यालेसमा महिलाहरू रहेको देखिएको छ। उनीहरूलाई सुतिरहेका बेला ‘हेलो दिदीहरू, फोन गर्नु त युवा संघले लखेटे भनेर! तपाईंहरू ७ गतेको कार्यक्रममा आउनुभएको हो, तपाईंहरू उठिहाल्नु त, ल छिटो गर्नुस्, १० मिनेटको समय दिन्छौं’ भन्दै फर्किन धम्क्याएको भिडियोमा सुनिन्छ।

महिलाहरूले भने, ‘पर्खिनुस् न, लुगा त लाउन दिनुस्’ भन्दै गरेको सुनिन्छ। भिडियोमा महिलाहरूले ‘उज्यालोसम्म हामीलाई बस्न दिनुस्, उज्यालो भएपछि हामी जान्छौं’ भनेर बिन्ती गर्दा पनि ‘हुँदैन’ भन्दै तुरुन्त फर्किन चेतावनी दिएको प्रस्ट सुनिन्छ।

भिडियोमा आफूलाई युवा संघको बताउने राईले ‘युट्युबमा दुर्गा प्रसाईं भनेर कुर्लिएजस्तो होइन, देखाइदिन्छौं भनेको होइन, अब हामी देखाइदिन्छौं, सबैलाई काठमाडौंबाट लखेटेर’ भनेको सुनिन्छ।

मंसिर १४ देखि झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा

एमाले केन्द्रीय कमिटी बैठकले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्गको झुलाघाटदेखि चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प पदयात्रा गर्ने कार्ययोजना पारित गरेको जानकारी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएका छन्। उनका अनुसार ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ मर्म एवं भावनाअनुरूप यात्रा सञ्चालन हुनेछ।

 ‘पदयात्राका क्रममा जनसभा, जनभेला, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको संकलन गरिनेछ’, गौतमले भने।

पदयात्राको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर गर्नेछन्। तीन सातासम्म चल्ने पदयात्राको समापन पाँचथरको चिवाभन्ज्याङ पुगेर गरिनेछ।

पदयात्राको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् भने केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मी टोलीमा रहनेछन्।

हिमाल, पहाड र तराई गरी तीन तह मिलेर बनेको नेपालको भौगोलिक संरचनामा पहाडको विशेष महत्व रहेको उल्लेख गर्दै एमालेले पहाडी क्षेत्रले नेपालको सर्वाधिक ठुलो भूभाग समेटेका कारण त्यस क्षेत्रमा पदयात्रा गर्ने जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८० ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App