१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौं- नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंगो लगाउन शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । निर्वाचन आयोगले दलहरुलाई निर्वाचित हुनलाई छानिने उम्मेदवारको अन्तिम नामवली बुझाउन पत्र पठाइसकेको छ ।
शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ेन बैठकले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूचीबाट उम्मेदवारको अन्तिम नाम छनोट गर्नेछ । निर्वाचन ऐनअनुसार उनीहरुलाई सांसद्मा निर्वाचित गर्न कांग्रेसले आयोगलाई शुक्रबार नै नामवलीसहितको पत्र पठाउनेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले शनिबार पत्राचार गरेको थियो । सात प्रदेशमा समानुपातिकतर्फ कुल २ सय २० स्थानमा एमालेले ७५, नेपाली कांग्रेसले ७२, नेकपा (माओवादी केन्द्र) ले ३५, संघीय समाजवादी फोरम नेपालले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, विवेकशील साझा पार्टीले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एकएक सिट पाएका छन् ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा राष्ट्रियसभा गठन अध्यादेशका विषयमा पनि छलफल हुनेछ । निर्वाचनपहिला नै सरकारले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश पठाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमाभन्दा बाहिर गएर रोकेको जिकिर गर्दै आएको कांग्रेसले बैठकमा त्यस विषयमा पनि छलफल गर्नेछ ।
राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभा निर्वाचनले पूर्णता नपाउने संवैधानिक व्यवस्था रहेको जनाउँदै आएको कांग्रेसको कार्यसम्पादन समिति बैठकले त्यस विषयमा पनि आधिकारिक धारणा सार्वजनिक गर्नेछ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भएको पराजयका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित: १४ पुस २०७४ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App