१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

को बन्लान् भावी प्रधानसेनापति?

रथीमा बढुवा सिफारिस गरिएका उपरथी ताराध्वज पाण्डेले उमेर विवादमा पदबाट राजीनामा दिएको र उनीपछिका उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने भएका कारण भावी प्रधानसेनापति को हुने भन्ने टुंगो लाग्न सकेको छैन।

प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि नौ महिनापछि सकिँदै छ। रथीमा बढुवा सिफारिस भएपछि पाण्डेलाई भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो। जन्म मिति विवाद बल्झेपछि उनले राजीनामा दिएका हुन्। उनीपछिको रोल क्रममा रहेका दुई उपरथी पनि जन्म मिति विवादमा तानिन सक्ने सैनिक स्रोत बताउँछ।

पाण्डेले राजीनामा दिए पनि स्वीकृत भएको छैन। विशिष्ट श्रेणीका सैन्य अधिकृतको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ। तर पाण्डेको राजीनामा पत्र मन्त्रिपरिषद्मा पुगेको छैन, रक्षा मन्त्रालयमै अड्केको छ। यस विषयमा जिज्ञासा राख्दा रक्षा सचिव किरणराज शर्मा आफू बाहिर भएको भन्दै बोल्न पन्छिए। ‘म बाहिर छु। यो विषयमा पछि कुरा गरौं’, सचिव शर्माले भने।

कात्तिक २४ गते पाण्डेले उपरथी पदबाट दिएको राजीनामा पत्र जंगी अड्डाले रक्षा मन्त्रालयमा पठाएको थियो। त्यसयता दुई पटक मन्त्रिपरिषद् बैठक बसिसकेको छ। ‘पाण्डेको राजीनामा किन स्वीकृत भएको छैन भन्ने मलाई थाहा छैन’, एक मन्त्रीले भने। जंगी अड्डाले पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गरेपछि उनको जन्म मिति विवाद बल्झेको थियो।

बढुवा रोलक्रममा रहेका रहेका अन्य दुई उपरथी पनि जन्म मिति विवादमा पर्ने देखिएपछि पाण्डेको राजीनामा स्वीकृत गर्नबाट रोकिएको आशंका छ। उनको राजीनामाले सेनाको भावी नेतृत्व एकैपटक २६ बेसिकमा पुग्ने अनुमान गरिएको छ।

 नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पनि पाण्डेको राजीनामा स्वीकृत भए नभएको विषयमा आफूलाई जानकारी नभएको बताए।

‘राजीनामा पत्र रक्षा मन्त्रालयमा पठाएको हो, त्यसपछि के भयो, मलाई जानकारी भएन’, उनले भने। पाण्डेलाई बढुवा सिफारिस समितिले रथीमा बढुवा सिफारिस गरेसँगै भावी प्रधानसेनापतिका रूपमा हेरिएको थियो।

सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गते अवकाशमा गएपछि रथीको उक्त दरबन्दी रिक्त भएको हो। अर्का रथी सीताराम खड्का पुस ३ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

सेनामा अवकाशको १५ दिनअघि अनिवार्य बिदा बस्ने परम्परा छ। यस आधारमा रथी खड्का मंसिर १८ गतेदेखि बिदामा बस्नेछन्। बढुवाका लागि प्रक्रिया पु¥याउनुपर्ने भएकाले केही समय रथीका दुवै पद रिक्त रहने सैनिक स्रोतले जनाएको छ।

रथीमा बढुवा सिफारिस गरिएका पाण्डेले जन्म मिति विवादमा परेर राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्मा नैतिक संकटमा परेका छन्।

पाण्डे जन्म मिति विवादमा तानिएपछि सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जन्म मितिमा कुनै विवाद नभएको र यसअघि नै परीक्षण भइसकेको बताएको थियो। ‘पदोन्नति प्रक्रिया अगाडि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेरसम्बन्धी कागजात विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायत निकायबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको बेहोरा जानकारी गराइन्छ’, पाण्डेको जन्म मिति विवादमा तानिएपछि निर्देशनालयले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो।

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाका पालामा अशोकराज सिग्देल, पाण्डेलगायत सैनिक अधिकृतहरूको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्म मिति फरकफरक परेको उजुरी बढुवा सिफारिस समितिमा परेपछि छानबिन गरिएको थियो। त्यसबेला छानबिन समितिमा हालका सेनापति शर्मा पनि थिए। छानबिन समितिले सिग्देल, पाण्डेसहितलाई सफाइ दिएको थियो।

उपरथीमा बढुवा हुँदा उमेर यकिन भएका भनिएका पाण्डेले अहिले रथीमा बढुवा सिफारिसमा परेपछि उमेर विवादकै कारण राजीनामा दिएका हुन्। उनको राजीनामाले मात्रै सेनाका अधिकृतहरूको जन्म मिति विवाद सुल्झने सम्भावना नभएको स्रोत बताउँछ।

पाण्डेको जन्म मिति विवाद बल्झेपछि रथी खड्काको नेतृत्वमा छानबिन भएको थियो। छानबिन समितिको प्रारम्भिक अनुसन्धानमा कागजात शंकास्पद देखिएपछि कोर्ट मार्सल (सैनिक अदालत) गठन हुने अवस्था सिर्जना भएकाले पाण्डेले हतारमा राजीनामा दिएको बताइएको छ।

पाण्डेले राजीनामा दिएपछि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा हुने रोलक्रममा छन्। यी दुवै उपरथीको जन्म मिति र शैक्षिक योग्यतामा पनि विवाद आउन सक्ने भन्दै जंगी अड्डा बढुवा सिफारिस गर्न रोकिएको छ। अब बढुवा सिफारिस गर्नुभन्दा अघि उमेर जनाउने सबै प्रमाणपत्र रुजु गर्ने तयारी सेनाले गरेको छ। 

प्रकाशित: ४ मंसिर २०८० ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App