१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

टिपताला नाका खुलाउन सर्वत्र दबाब

नाका खुलाउने बिषयमा टिपतालामा पुगेर तिब्बती अधिकारीसँग छलफल गर्दै नेपाली जनप्रतिनिधि र सहभागी दलका प्रतिनिधि । तस्बिर:नागरिक ।

 गत भदौ २४ गते नै खुल्ने भनिए पनि अहिले सम्म बन्द रहेको टिपताला नाका खुलाउन दबाब बढ्दै गएको छ।नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउन सदन र सीमा दुवै क्षेत्रबाट दबाब अघि बढाइएको छ।

नाका खुलाउने बिषयमा सीमावर्ती फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिको समन्वयमा स्थलगत रूपमै नाका पुगेर तिब्बती अधिकारीहरुसंग छलफल भईरहेको छ।यहाँबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसदहरूले आ–आफ्नै ढङ्गबाट पहल गरिरहेका छन्। प्रतिनिधिसभा सञ्चालनका बेला यहाँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने योगेशकुमार भट्टराई,उर्मिला थेबे र लीलादेवी बोखिमले सदनमा बारबार कुरा उठाएका भने प्रदेशसभाका सांसदहरू तिलकुमार मेन्याङ्वो र खगेनसिंह हाङ्गामले सदनमा नाका खुलाउने विषयको बारेमा सरकारको ध्यानाकृष्ट गरेको जनाएका छन् । लिखित रूपमै पनि सांसदहरूले परराष्ट्र मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् । नाका खुलाउन सदनमा उठाएका सवाल समेतले उचित स्थान नपाएपछि सीमा क्षेत्रमै पुगेर चीनको स्वशासित क्षेत्र तिब्बती अधिकारीसँग छलफल गर्ने क्रम सुरु भएको छ ।

फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेलेन वालुङको समन्वयमा नेपाल र तिब्बतका अधिकारीबिच छलफल भएको हो । टिपताला भञ्ज्याङमा नेपालको तर्फबाट ताप्लेजुङका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु,मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गाम,फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास)लिम्बूसहितका राजनीतिक दलका जिम्मेवार प्रतिनिधि सहभागी थिए। तिब्बतका तर्फबाट डिङ्जी काउन्टी जिल्लाका डीएसपी दावा छिरिङ लामा, इमिग्रेसन पुलिस अफिसर टासी थुन्डुक, रिउ सहरको टेन्डाङ उपप्रमुख लोप्साङ फिन्जोक र पुलिस अफिसर गुरु छलफलमा सहभागी भएको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बूले बताए। 

छलफलमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षेत्री(पराग)वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा र नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ समेत सहभागी थिए । यसअघि ताप्लेजुङ र पाँचथरका सञ्चारकर्मीहरूको टोली समेत टिपताला नाका पुगेर नाका खुलाउने बिषयमा तिब्बती पक्षको ध्यानाकर्षण गराएर फर्किएको छ । यसअघि ताप्लेजुङका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्को नेतृत्वमा रहेको सुरक्षा टोलीले समेत टिपताला नाका पुगेर बन्द नाका सुचारु गर्ने बिषयमा तिब्बती पक्षको धारणा माग गरेको थियो । कोरोना महामारीपछि बन्द भएको टिपताला नाका करिब चार वर्षयता बन्द छ । नाका बन्द हुँदा दुई देशबीच हुँदै आएको सीमा व्यापार ठप्प भएको छ ।

 नाका बन्द कायम रहँदा फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोला र याङ्मा, वडा ६ लेलेपको फले र घुन्साका बासिन्दा बढी प्रभावित बनेका छन् । तिब्बतको रिउबाट सस्तो मूल्यमा दैनिक उपभोग्य लगायतका आवश्यक सामग्री आयात गरी उपभोग गर्दैआएका यस क्षेत्रका बासिन्दाको आयात खर्च बढ्दा दैनिकी महँगिएको छ । यसैबिच पर्यटन प्रवद्र्धन र त्यस क्षेत्रका पूर्वाधारका आवश्यक विषयवस्तुका बारेमा जानकारी लिने तथा स्थानीय बासिन्दासँग साक्षात्कार गर्ने उद्देश्यले फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष लिम्बूको टोली याङ्मातर्फ लागेको छ । लिम्बू नेतृत्वको टोली टिपतालाबाट फर्किएपछि याङमातर्फ मोडिएको हो । याङ्मा साविक ओलाङ्चुङगोला गाविसको वडा नं ९ हो । 

प्रकाशित: १ मंसिर २०८० ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App