coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसले रोपे वाम किल्लामा कांग्रेस बिउ

सिन्धुपाल्चोक- प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसमेत ६ सिटमध्ये एकमा जित निकालेर वाम किल्लामा कांग्रेस बिउ रोपेका छन्, निमा लामाले । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उनी प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी भएका हुन् । 
सिन्धुपाल्चोकमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धन मिलेपछि सबै सिटमा उनीहरुले नै कब्जा बनाउने अधिकांशको अनुमान थियो । तर अनुमानविपरीत आश्चार्यजनक नतिजा निकालेर निमाले कांग्रेसलाई ‘क्लिनस्विप’ हुनबाट मात्र जोगाएनन्, वाम गठबन्धनका हस्तीलाई पछारेर सबैलाई चकित पारे । त्यसैले निर्वाचन परिणाम सार्वजनिक भएपछि उनी चर्चाको शिखरमा छन् । 
    उनले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका दावा तामाङलाई १ सय ९७ मतको झिनो अन्तरले हराए । निमाले १८ हजार ९ सय ५ मत प्राप्त गरे भने दावाले १८ हजार ७ सय ८ भोट ल्याए । यी नै दावा हन्, जसले २०६४ को संविधानसभा निर्वाचनमा पञ्चायतालीन राजनीतिका हस्ती पशुपतिशमशेर राणालाई उनको राजनीतिक ‘करिअर’ मै हारको पहिलो स्वाद चखाएर राप्रपाको परम्परागत किल्ला (तत्कालीन क्षेत्र नं. ३) भत्काएर कम्युनिस्ट बिउ रोपेका थिए । 
    स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा कम्युनिस्ट किल्ला बनिसकेको थियो यो प्रदेशसभा क्षेत्र । यो प्रदेशसभाका तीन स्थानीय तहमध्ये मेलम्ची नगर र पाँचपोखरी गाउँपालिका एमालेले जितेको थियो भने हेलम्बु गाउँपालिकामा मात्र कांग्रेस विजयी भएको थियो । राप्रपाले एउटा वडामा मात्र चित्त बुझाउनु परेको थियो ।
    मेलम्ची नगरमा पर्ने कांग्रेस, राप्रपा बाहुल्य साबिक ज्यामिरे, शिखरपुर र फटकशिला गाविस (क) प्रदेशसभा क्षेत्रमा परेपछि यहाँबाट गैरकम्युनिस्टले जित्नु भनेको ‘फलामको चिउरा चपाउनु’ सरह थियो । साबिक यी तीन गाविसबाहेक तत्कालीन क्षेत्र नं. ३ को पूरै भूभाग प्रदेशसभा क्षेत्र (ख) मा समेटिएको छ ।
    सामान्य राजनीतिक पृष्ठभूमिका निमा उम्मेदवार सिफारिस हुँदा जति चर्चामा रहे, टिकटै पाएपछि थप चर्चा बटुले । अन्त्यत चुनावै जितेपछि को हुन् निमा भनेर चासो बढेको छ । ‘कुनै आश्चर्य मान्नु पर्दैन,’ उनी भन्छन्, ‘स्थानीय थिएँ । त्यसैले सबैको साथ पाउँछु भन्ने विश्वास थियो ।’
    सामाजिक कार्यकर्ताका रुपमा स्थानीय स्तरमा गरेका कामको मूल्यांकनका आधारमा पहिल्यै जित्दैछु भन्ने विश्वास रहेको उनले सुनाए । निमा कांग्रेस क्रियाशील सदस्य मात्र हुन् । उनले राजनीतिमा पाएको ठूलो जिम्मेवारी भनेको कांग्रेसको जिल्ला सदस्य हो । २०६२÷०६३ को जनआन्दोलनताका उनी कांग्रेस जिल्ला सदस्य थिए । पर्यटनसम्बन्धी एजेन्सी चलाउँदै आएका उनी त्यसकै माध्यमले सामाजिक काम गरेर ह्योल्मो (हेलम्बु) क्षेत्रमा चर्चित थिए । 
    ४२ वर्षीय निमाले निर्वाचनमा स्थानीय हुनुको भरपूर फाइदा उठाए । उनका निकटतम् प्रतिद्वन्द्वी दावा जिल्लावासी भए पनि स्थानीय थिएनन् । उनको गृहगाउँ प्रतिनिधिसभा क्षेत्र नं. १ मा पर्छ । सुरुमा दावाको नाम क्षेत्र नं. २ को उम्मेदवारका रुपमा सिफारिस भएको थियो । 
दावाले पहिलो संविधानसभा चुनावमा उनले पशुपतिलाई तेस्रो स्थानमा राखेर पराजित गर्दा निकटतम् प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङलाई सय मतान्तरले हराएका थिए । २०६४ को चुनाव जितेर कम्युनिस्ट बिउ रोपेका दावा बैद्य माओवादीमा लागेर २०७० को दोस्रो संविधानसभा चुनाव बहिष्कार गरे । उनले रोपेको कम्युनिस्ट बिउको जगमा उक्त चुनाव शेरबहादुरले जितेका थिए । 
    तत्कालीन क्षेत्र नं. ३ का साबिक ती गाविसबाहेक सबै भूगोल समेटिएको यो प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले जितेको यो पहिलो पटक हो । यो निर्वाचनमा जिल्लामा एमाले र माओवादी केन्द्रले एक÷एक प्रतिनिधिसभा र क्रमशः दुई र एक प्रदेशसभा सदस्य जितेका छन् । 

प्रकाशित: २६ मंसिर २०७४ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App