२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

बुटवल- लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ । वाम गठबन्धनले प्रतिनिधिसभाका १० स्थानमा जीत हात पारेको छ भने कांग्रेसले पाँच स्थानमा विजयी भएको छ । प्रदेशसभा सदस्यमा वाम गठबन्धनले २१ स्थानमा जीत हात पारेको छ । कांग्रेसले पाँच स्थानमा जितेको छ । संघीय समाजवादी फोरमले प्रदेशसभाका दुई स्थानमा जितेको छ  । अर्घाखाँचीको प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुई स्थानको नतिजा आउन बाँकी रहेको छ ।

रुपन्देहीका प्रतिनिधिसभाका पाँच सीट मध्ये एमालेले तीन र कांग्रेसले दुई सीटमा विजय हासिल गरेको छ। प्रदेशसभाका १० सीटमध्ये पाँच सीट एमाले र एक माओवादी गरी ६ सीट वाम गठबन्धनले हात पारेको छ । त्यसैगरी कांग्रेसले तीन सीट र संघीय समाजवादी फोरमले एक सीटमा जीत हात पारेका छन् ।

  एमालेका दुई उपमहासचिव बिष्णु पौडेल र घनश्याम भुसाल भारी मतान्तरले रुपन्देही २ र ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

 रुपन्देही—२ मा एमाले उप महासचिव पौडेलले ४४ हजार ९ मत ल्याएर बिजयी भए  ।  निकटतम प्रतिद्वन्दी कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत ल्याई २२ हजार ६३ मतान्तरले पराजित भए ।

  त्यस्तै सोही क्षेत्रको प्रदेशसभा १ मा एमालेका लिला गिरी २१ हजार ७ सय ३४ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका काजीमान श्रेष्ठले ९ हजार ७ सय ७८ मत ल्याए । श्रेष्ठ ११ हजार ९ सय ५६ मतान्तरले पराजित भएका हुन् ।

   सोही क्षेत्रको प्रदेश सभा २ मा एमालेकै भोज प्रसाद श्रेष्ठले २१ हजार १ सय ३७ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेशमान सिंहले १२ हजार ५ सय ६८ मत ल्याई पराजित भए  ।

  रुपन्देही—३ बाट प्रतिनिधिसभा  सदस्यमा एमालेका अर्का उपमहासचिव भुसालले ३२ हजार ८ सय ६६ मत प्राप्त गरी विजयी भए । लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहराले २७ हजार ४ सय २२ मत ल्याइ पराजित भए।

  रुपन्देही—३ को प्रदेशसभा १ मा संघीय समाजवादी फोरमका सन्तोष पाण्डेले ११ हजार ४ सय ७७ मत ल्याई जीत हात पारे । कांग्रेसका देवीप्रसाद चौधरीले १० हजार ३ सय २८  र माओवादी केन्द्रका विश्वास बरालले ९ हजार ८ सय ३७ मत ल्याइ पराजीत भए ।

 रुपन्देही—३ को प्रदेशसभा २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका तुलसी चौधरी १८ हजार ६१५ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका  कांग्रेसका हरिध्वज मल्लले १६ हजार ७९३ मत ल्याए ।

रुपन्देही  १ मा एमालेका छविलाल विश्वकर्माले ३४ हजार ७ सय ५२ मत ल्याइ बिजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अब्दुल रज्जाकले २६ हजार  ८ सय ८५ मत प्राप्त गरे । प्रदेश सभातर्फ यहाँ पनि दुवै सीटमा वाम गठबन्धनले जीत हात पारेको छ।  प्रदेश क मा एमालेका कृष्ण न्यौपानेले १९ हजार ५० मत ल्याई विजयी भए ।  उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ताहिर अलि मुसलमानले १३ हजार १४१ मत ल्याए । प्रदेश खमा बाम गठबन्धनका माओवादी केन्द्रका दधिराम न्यौपानेले १३ हजार ९४ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका हरी न्यौपानेले ११ हजार १०८ मत पाए ।

  क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका प्रमोद यादवले  ३१ हजार ७ सय १८ मत ल्याएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी पूर्वमन्त्री तथा राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले २० हजार ४ सय १६ मत प्राप्त गरे । शुक्ला यसअघि सोही क्षेत्रबाट २०७० को संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए।

 यस क्षेत्रको प्रदेश सभाको दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार अष्टभुजा पाठक र वसिउद्धिन खान निर्वाचित भएका छन्। प्रदेशसभा १ मा अष्टभुजा पाठकले ९ हजार ६४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी राजपाका हजरत अलिले ४ हजार ६ सय ३४ मत प्राप्त गरे ।  प्रदेश सभा २ मा वसिउद्धिन खानले १२ हजार १ सय १३ मत ल्याई निर्वाचित भए। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले ५ हजार ७ सय ६९ मत ल्याए ।

  रुपन्देही क्षेत्र नम्बर ५ बाट कांग्रेस उम्मेदवार भरत शाहले  ३३ हजार ८८ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डिलाराम आचार्यले २० हजार ४ सय ३८ मत प्राप्त गरे।

  क्षेत्र नम्बर ५ को प्रदेशसभा १ बाट एमालेका भुमिश्वर ढकाल २२ हजार २५ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत ल्याए ।

  त्यस्तै क्षेत्र नं. ५ को प्रदेश सभा २ मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका  फकरुद्धिन खाँ १५ हजार ६८३ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरममा रमावती यादवले ९ हजार २५० मत ल्याउन सफल भइन् ।

गुल्मी र पाल्पामा क्लीनस्विप

पाल्पा र गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ। दुई, दुई प्रतिनिधिसभा र चार, चार प्रदेश सभा सदस्य रहेको यी दुई जिल्लाका सबै सीट बाम गठबन्धनले जितेको हो।

गुल्मी १ मा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले ३७ हजार ८ सय १७ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ३० हजार २ सय १४ मत पाए ।  यस अघि कांग्रेसका भण्डारीबाट पराजित ज्ञवालीले अहिले उनै भण्डारीलाई पराजित गरे ।  प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार माओवादीका नेता सुर्दशन वरालले  १७ हजार ९ सय १० मत प्राप्त गरि बिजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका पुथ बहादुर फौदारले १३ हजार २ सय ९९ मत प्राप्त गरे ।  प्रदेश सभा ‘ख’ मा एमालेका कमलराज श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याई जीत हात पारे । उनका प्रतिस्पर्धी कांग्रेसका धनेन्द्र कार्कीले १६ हजार ३ सय ७३ मत प्राप्त गरे ।

गुल्मी २ मा वाम गठबन्धनका उम्मेदवार तथा एमालेका केन्द्रिय अर्का सचिव गोकर्ण विष्टले ३४ हजार  सय १८ मत ल्याइ बिजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र केसीले २० हजार १ सय ५० मत प्राप्त गरे । विष्ट र केसीबीचको मतान्तर १४ हजार ४  सय ५९ रहेको छ । प्रदेश सभा ‘क’मा एमालेका खड्ग बहादुर केसीले १६ हजार ६ सय ६५ मत ल्याई बिजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत प्राप्त गरे ।  त्यस्तै प्रदेशसभा ‘ख’मा वाम गठबन्धनकै माओवादी पोलीटब्युरो सदस्य दिनेश पन्थीले १७ हजार ६ सय १ मत प्राप्त गरी बिजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छन्द बहादुर पहराईले ९ हजार ५ सय ६४ मत प्राप्त गरे ।

त्यसैगरी पाल्पा— १ मा  एमालेका दलबहादुर राना ३० हजार ५ सय ४९ मत ल्याइ   विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विजयराज घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गरे । पाल्पा— २ मा एमालेका सोमप्रसाद पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३ सय ४५ मतअन्तरले हराउँदै विजयी भएका हुन् । पाण्डेले ३४ हजार ८ सय ९९ मतसहित विजयी हुँदा कांग्रेस नेता नेपालले २४ हजार ५ सय ५४ मत प्राप्त गरे ।

प्रदेशसभातर्फ क्षेत्र नं. १ ‘क’ मा  एमालेका युवराज खनालले १७ हजार ८ सय ५१ मत ल्याइ विजयी भए । उनका  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज ढकालले १३ हजार ६ सय ६० मत प्राप्त गरे ।  एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य प्रदेशसभा १ ‘ख’ मा विजयी बनेका छन् । वामगठबन्धनका तर्फबाट आचार्य १४ हजार ४ सय ६६ मत सहित विजयी बनेका हुन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दानबहादुर पछाईले १० हजार ५ सय १ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ क्षेत्रनम्बर २ ‘क’ मा एमालेका डा. पुरन बज्राचार्य विजयी भएका छन् । बज्राचार्य १६ हजार ४२२ मतसहित विजयी भए भने उनका प्रत्यासी नेपाली कांग्रेसका माधव प्रसाद नेपालले १३ हजार ४७० मत पाए । प्रदेशसभा २ ‘ख’ मा बामगठबन्धनका तुलाराम घर्ती मगर विजयी भएका छन् । गठबन्धनमा माओवादी केन्द्रका उम्मेदवार रहेका घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरि विजयी भएका हुन् । घर्तीले ४ हजार ९ सय २६ मत अग्रताका साथ बिजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गरे।

  नवलपरासी – ( बर्दघाट सुस्ता ) पश्चिम १ बाट बाम गठबन्धनका उम्मेदवार पूर्व मन्त्री हृदयेश त्रिपाठी ३८ हजार ५९२ मत ल्याइ बिजयी भएका छन् ।  उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देवकरण  कलवारले कुल ३३ हजार ५ सय ९१ मत प्राप्त गरे। 

यसैबीच नवलपरासी  (बर्दघाट सुस्ता ) पश्चिम १   अन्तर्गत प्रदेश सभा – ( क) तर्फ एमालेका उम्मेदवार दिपेन्द्र कुमार अधिकारी २०  हजार  ५०६ मत प्राप्त गरी  बिजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका बिक्रम खनालले कुल  १८ हजार ५०३ मत प्राप्त गरे  ।  

 प्रदेश सभा – ( ख) तर्फ  एमालेका अजय कुमार शाही १९  हजार ३ सय ३३ मत प्राप्त गरी  बिजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका मुकुल आचार्यले १२ हजार ६ सय ३ मत प्राप्त गरे  ।  

(गुल्मीबाट शिवलाल सुवेदी, पाल्पाबाट  मुक्ति न्यौपाने, कपिलवस्तुबाट  किरणमान बज्राचार्य, भैरहवाबाट रेखा भुसाल, नवलपरासीबाट कल्पना भट्टराईको सहयोगमा)

 

प्रकाशित: २४ मंसिर २०७४ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App