१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओखलढुंगामा वाम गठबन्धनका सुनुवार र गुरुङ विजयी

खोटाङ– ओखलढुंगामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा (क) मा वाम गठबन्धनको विजय भएको छ । शनिबार बिहान सार्वजनिक परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धन (एमाले) का उम्मेद्वार यज्ञराज सुनुवार र प्रदेशसभा (क) मा वाम गठबन्धन (एमाले)का उम्मेद्वार अम्बीरबाबु गुरुङ बिजयी भएका हुन् ।

सुनुवार कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रामहरि खतिवडाभन्दा ५ हजार २५३ मत बढी पाएर विजयी भएका हुन् । शनिबार बिहान घोषित अन्तिम मत परिणामअनुसार वाम गठबन्धनका सुनुवारले ३२ हजार ५८० मत र कांग्रेसका खतिवडाले २७ हजार ३२७ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा दुबै उम्मेद्वार उत्तिकै प्रभावशाली र लोकप्रिय नेताकारुपमा परिचित छन् । प्रभावका हिसावले कडा टक्कर हुने अनुमान विपरित सुनुवार भारी मतान्तरले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो सिट सुरक्षित गरेका छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका विजयी सुनुवार एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा इञ्चार्ज हुन् । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा ठाकुर गैरेसँग पराजित भएपछि जिल्लाको राजनीतिमा छिरेका सुनुवारले ओखलढुंगाको इतिहासमा २०७० सालमा एमालेको पहिलो किल्ला गाडेको श्रेय कमाएका छन् । २०६४ सालमा सम्पन्न संबिधानसभाको पहिलो निर्वाचनमा पराजय बेहोरेका सुनुवारले २०७० को निर्वाचनमा कांग्रेसका बालकृष्ण दाहाललाई पछि पार्दै एमालेलाई पहिलो विजय दिलाएका थिए ।

यस्तै, प्रदेशसभा (क) मा कांग्रेसका उम्मेद्वार मित्रसेन दाहालभन्दा ७ हजार २ मत मत बढि ल्याएर गुरुङ विजयी भएका हुन् । शुक्रबार राती घोषित नतिजा अनुशार वाम गठबन्धनका गुरुङले १८ हजार ९०८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी दाहालले ११ हजार ९०६ पाएको मुख्या निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टलाई जिताएर चर्चामा आएका गुरुङ बढी सामाजिक कामबाट परिचित छन् । २०५६ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका गुरुङ पुःन ८ वर्षपछि चुनावी मैदानमा आएका हुन् ।

प्रदेशसभा (क) को मत गणना सकेपछि प्रदेशसभा (ख) को मत गणना सुरु गर्ने सहमती अनुशार अहिले प्रदेशसभा (ख) को मत गणना भइरहेको छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App