२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रोकिएन विस्फोटको श्रृङ्खला

विस्फोटक पदार्थ बेरिएको पाइप। फाइल तस्विर

काठमाडौं—दोस्रो चरणको निर्वाचनका लागि दुई दिनमात्रै बाँकी रहँदा विस्फोटका घटना रोकिएका छैनन्। मौनअवधि सुरु भएको दोस्रो दिन बिहानै काठमाडौं क्षेत्र नम्बर–१० कीर्तिपुरको जनसेवा मतदानकेन्द्र नजिकै फेला परेको बम नेपाली सेनोको डिस्पोजल टोलीले निस्क्रिय पार्‍यो। काठमाडौंकै मैपीस्थित विष्णुमतीको बगरमा पनि वम भेटिएको छ।

सोमबार दिउँसो काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार गगन थापा लक्षित वम विस्फोट भयो । जसमा थापासहति ११ जना घाइते भए।
उक्त घटना भएको तीन घण्टाभित्रै प्रहरीले वम विस्फोट गराएको शंकामा काठमाडौंका विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लियो र छानबिन अघि बढायो । जसमध्ये पाँच जनालाई छोडिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक रामदत्त जोशीले जानकारी दिए।

‘निर्वाचनलाई बहिष्कार गर्ने मनस्थितिका साथ लामो समयमदेखि ठुलो संख्यामा तयारीका साथ विद्रोहीहरु परिचालित भएका तर सुरक्षा निकायसँग सीमित स्रोत साधनका कारण हामी केही चुकेका छौं।’

लगातार वम आक्रमण कसले गराइरहेको छ? प्रहरी मौन छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) जयबहादुर चन्दका अनुसार कुनै पक्षले जिम्मेवारी नलिएसम्म कसले विस्फोट गराएको हो निक्र्यौल गर्न नसकिने बताउँछन्। ‘विभिन्न ठाउँमा निरन्तररुपमा विस्फोटमध्ये केही स्थानका विस्फोटको जिम्मा नेपाल कम्युनिष्ट पार्टीले लिएको छ भने केही स्थानका विस्फोटको जिम्मा कसैले पनि लिएको छैन। हामी छानविन गरिरहेका छौं। कसले विस्फोट गराएको भन्ने पत्ता लगाउन केही समय लाग्छ।’

सोमबार कांग्रेस उम्मेदवार थापामाथि भएको आक्रमणका विषयमा पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएर छानविन अघि बढाएको एआइजी चन्दले जानकारी दिए। यसरी निरन्तर रुपमा विस्फोटका घटनाहरु दोहोरिदा पनि सुरक्षा निकाय मुकदर्शकजस्तै बनेको भन्ने आलोचना हुन थालेको छ। नेपाल प्रहरीले सकेसम्म मिहनेत गरेर सुरक्षालाई मजबुत बनाउने प्रयत्न गरेको बताउँदै एआइजी चन्द भन्छन्, ‘निर्वाचनलाई बहिष्कार गर्ने मनस्थितिका साथ लामो समयमदेखि ठुलो संख्यामा तयारीका साथ विद्रोहीहरु परिचालित भएका तर सुरक्षा निकायसँग सीमित स्रोत साधनका कारण हामी केही चुकेका छौं।’

उनका अनुसार भौगोलिक अवस्था, सुरक्षा चेकजाँचका लागि आधुनिक प्रविधियुक्त साधन नहुनु, सहर तथा बसोबास सिसिटिभि क्यामेराको निगरानीमा नहुनु र आवश्यकता अनुसार जनशक्ति अभावका कारण सुरक्षा निकाय चुकेको देखिन्छ। जनतामा त्रास उत्पन्न गर्ने उद्देश्यले वमको नाममा प्लाष्टिकमा बेरेर विभिन्न वस्तुहरु पनि राखेर वम आतंकको हल्ला फैलाइएको पनि पाइएको एआइजी चन्दले बताए।

आजैदखि हरेक मतदान केन्द्रमा सर्च अपरेसनसहित सुरक्षाकर्मी परिचालन गरिएको र मतदाता तथा मतदान केन्द्रको पूर्ण सुरक्षाका लागि बलियो सुरक्षा व्यवस्था गरिएकोले ढुक्क भएर मतदान गर्नसमेत एआइजी चन्दले आग्रह गरेका छन्।

नेपाल प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार, मतदाता, मतदान अधिकृत तथा मतदानस्थलको पूर्ण सुरक्षाका लागि कुल जनशक्तिको ९० प्रतिशत सुरक्षाकर्मी चुनावको सुरक्षार्थ परिचालन गरिएको जानकारी दिए।

महानगरिय प्रहरी प्रवक्ता जोशीका अनुसार निर्वाचन विरोधी गतिविधि गर्न गराउन सक्ने तथा मतदातालाई प्रभावित पार्नसक्ने भन्दै शंकास्पद ३४ जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिइएको छ। ‘निर्वाचन विरोधी गतिविधि बढाउनसक्ने भएकोले ३४ जनालाई हामीले नियन्त्रणमा लिएर छानविन अघि बढाएका छौं र अन्य केहीको पनि सूची तयार पारेर नियन्त्रणमा लिने तयारीमा छौं। उनीहरुलाई आजभोलीसम्म नै नियन्त्रणमा लिन्छौं’, उनले भने।

निर्वाचन सुरक्षका लागि काठमाडौंमा मात्रै ५,२७७ जना नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ। एक मतदानस्थलमा ८ देखि २६ जना सुरक्षाकर्मी परिचालन गरेको जोशीले बताए। उनले भने, ‘काठमाडौंमा १४१ संवेदनशील र १७९ सामान्य गरी दुई तहमा मतदानस्थलाई वर्गीकरण गरेका छौं। जसमा आवश्यकता अनुसार ८ देखि २६ जान नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरेका छौं।’
पहिलो र दोस्रो घेरामा क्रमशः म्यादी र नेपाल प्रहरी रहने र तेस्रो र चौथो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन हुने प्रवक्ता जोशीले बताए।

बिहीबार दोस्रोचरण अन्र्तगत देशभर ४५ जिल्लामा १२८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। मंसिर १० गते पहिलो चरण अन्र्तगत ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान भएको थियो।
 

प्रकाशित: १९ मंसिर २०७४ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App