२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गुटेरेस फर्के, दलहरू जुटे

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुन नेपाल आएको १५ वर्षपछि गुटेरेस यहाँ आएका हुन् ।

दस वर्षे हिंसात्मक आन्दोलन अन्त्य गरी माओवादी शान्ति प्रक्रियामार्फत सरकारको नेतृत्वमा पुगेलगत्तै संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान २००८ अक्टोबर अन्तिम साता नेपाल आएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै सरकारको नेतृत्वमा रहेका बेला बानले नेपाल भ्रमण गरेका थिए भने अहिले गुटेरेसको भ्रमणका बेला पनि दाहाल नै प्रधानमन्त्री छन् ।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने प्रयासमा नेपालका राजनीतिक दल र सरकार सक्रिय रहेका बेला गुटेरेसले नेपाल भ्रमण गरेका हुन् । इजरायल र प्यालेस्टाइन तथा युक्रेन र रुसबीचको टकरावले विश्वयुद्धको आशंका भइरहेका बेला गुटेरेसले गौतम बुद्धको जन्मभूमि भ्रमण गरी विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।

सगरमाथाको आधारशिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरेका उनले त्यहाँबाट जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरप्रति विश्व समुदायको ध्यानाकर्षण गराए । उनले संघीय संसद्लाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरलाई अन्तर्राष्ट्रियकरण गरिदिएका छन् ।

उनले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्द पीडितलाई केन्द्रमा राखे संक्रमणकालीन न्याय तत्काल टुंगो लगाउन राजनीतिक दलका नेता र सरकारलाई आग्रह गरेका थिए । यसका लागि राष्ट्रसंघले आवश्यक सहयोग गर्ने बताउँदै उनले विश्वमा शान्ति स्थापनाका लागि नेपाल प्रहरी र नेपाली सेनाले पुर्याएको योगदानको पनि उच्च प्रशंसा गरे ।  

गुटेरेसको भ्रमणले अन्तर्राष्ट्रिय समुदायमा नेपालको महत्त्व बढाएको टिप्पणी गर्दै पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको शान्ति प्रक्रिया र विश्वमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्याउएको योगदान उच्च रहेको बताए । माओवादी अध्यक्ष दाहाल नै प्रधानमन्त्री भएका बेला राष्ट्रसंघका महासचिवको भ्रमणलाई संयोग मात्र भएको ढुंगानाले बताए । ढुंगानाले प्रधानमन्त्री (पुष्पकमल दाहाल) मा संक्रमणकालीन न्याय लम्बियो भन्ने दायित्व बोध रहेको बताए ।  

संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसकेको अवस्थामा दाहालकै पहलमा राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण भएको बताउँदै ढुंगानाले भने, ‘संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेन भने युद्धरत पक्ष भएर आयोगमा हाजिर हुनुपर्ने चेत पनि उहाँ (दाहाल) मा भएको देखिन्छ ।’

शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा नपुगेसम्म द्वन्द्व सकिएको मान्न नसकिने र राजनीतिक परिवर्तनका उपलब्धिहरू गुम्न सक्ने विश्लेषण भइरहेका बेला महासचिव गुटेरेस नेपाल भ्रमण गरी फर्किएका छन् । उनी फर्केकै दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयमा छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री दाहालको आग्रहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बालुवाटारमा छलफल भएको छ । संघीय संसद्को जारी अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पारित गर्ने सरकारी तयारी रहे पनि अधिवेशन अन्त्यको अघिल्लो दिनसम्म सहमति भने हुन सकेको छैन ।  

दलीय सहमतिबाटै सत्यनिरूपण तथा बेपत्ता पारिएका व्यक्तिहरूसम्बन्धी विधेयक पारित गर्ने प्रतिबद्धता पनि नेताहरूले गरेका छन् । बालुवाटारमा भएको छलफलपछि एमालेले आयोजना गरेको चियापानमा पुगेका नेताहरूले असमझदारी हटाएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रकाशित: १६ कार्तिक २०८० ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App