१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘मण्डल गणतन्त्रका अनवरत योद्धा’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु सबै नेपालीको कर्तव्य भएको बताएका छन्। लामो संघर्ष, बलिदान र त्यागको बलमा प्राप्त यस उपलब्धिलाई समाप्त पार्ने जुनसुकै षड्यन्त्रका विरुद्ध आम नेपाली एकजुट भएर उभिनुपर्नेमा उनको जोड थियो।

२००७ सालको क्रान्तिदेखि नै प्रजातन्त्र र संविधानसभाको पक्षमा बुलन्द आवाज उठाउने राजनीतिज्ञ खुसीलाल मण्डलको नागरिक अभिनन्दन कार्यक्रममा बुधबार पूर्वराष्ट्रपति यादवले भने, ‘गणतन्त्र, लोकतन्त्र, संघीयता, समावेशितालगायतका महत्वपूर्ण उपलब्धीहरू प्राप्तिपछि देशमा जागृति आएको छ।

‘संघीयता र गणतन्त्र यस जागृतिको महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘कमजोरीहरू सुधार गर्दै यसलाई अझ मजबुत बनाउनुपर्छ। यस अवधिमा धेरै सकारात्मक कार्य भएका छन् र धेरै सकारात्मक कार्य गर्न बाँकी छ।’

विगतमा मधेस स्वर्ग रहेको उल्लेख गर्दै उनले भने, ‘चुरे र भावर क्षेत्रमा जंगल र ढुंगा, गिट्टीको विनास तथा उत्खननका कारण मधेसको भूमि मरुभूमिमा परिणत हुने अवस्था सिर्जना भएको छ।’

यो विनासलीला रोक्नप्रति कुनै दल गम्भीर नदेखिएको उनको भनाइ थियो। उनले भने, ‘विनासको क्रम यही गतिमा चलिरहे जसरी पानीबिना माछा छट्पटिन्छ, त्यसैगरी केही वर्षपछि पानीबिना मधेस छट्पाउँछ।’

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगानाले मधेसको इतिहास नयाँ शिराबाट लेख्नुपर्ने बताए। ‘मधेसको योगदानबारे लेखिएकै छैन,’ उनले भने, ‘हरेक परिवर्तनमा मधेसको महत्वपूर्ण योगदान छ। जुन कतै लेखिएको छैन, अब लेखिनुपर्छ।’

कार्यक्रममा राजनीतिज्ञ खुसीलाल मण्डललाई सप्तरी–सिरहा नागरिक समाजका तर्फबाट पूर्वराष्ट्रपति यादवले नागरिक सम्मान गरे। सो अवसरमा जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिके राउत, प्रतिनिधिसभा सदस्यहरू दिनेशकुमार यादव र नवलकिशोर साह, राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह, प्रदेशसभा सदस्यहरू जितेन्द्र सोनल र ललिता दास, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयोजक संस्थाका रामरिझन यादवलगायतले अभिनन्दित व्यक्तित्व मण्डल लोकतन्त्र र संघीयता तथा संविधानसभाका हिमायती भएको चर्चा गरे।

सो अवसरमा रामरिझन यादवद्वारा सम्पादित ‘कर्मवीर योद्धा खुसीलाल मण्डल’ ग्रन्थको पूर्वराष्ट्रपति यादवले लोकार्पण गरेका थिए।

प्रकाशित: २ कार्तिक २०८० ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App