१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बलियो वाम गठबन्धन, व्यवस्थित लोकतान्त्रिक गठबन्धन

चितवन- चितवनमा चुनावका बेला कम्युनिस्ट घटक र कांग्रेसबीच सधैं तीव्र प्रतिस्पर्धा चल्ने गर्छ । २०४८ सालयताका चुनावमा कहिले कम्युनिस्ट हाबी भएका छन् कहिले कांग्रेस । यसपटक मुख्य दुई कम्युनिस्ट घटक गठबन्धन बनाई चुनावमा आएका छन् । ४८ सालको चुनावमा यस्तै गठबन्धन थियो र त्यस बेला जिल्लाका सबै तीन क्षेत्रमा वामपन्थी उम्मेदवारले जितेका थिए ।

चितवनमा पूर्वप्रधानमन्त्रीदेखि वर्तमान सरकारका मन्त्री र पूर्वमन्त्री प्रतिस्पर्धामा छन् । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिस्पर्धा गर्नेमा पाँचजना पूर्वसांसद नै छन् । त्यसैले चितवनको चुनाबी माहोल निकै तातेको छ ।

यसपटक स्थानीय तह निर्वाचनमा चितवन र खास गरेर भरतपुर चर्चाको केन्द्रमा रह्यो । अहिले हुन गइरहेको निर्वाचनमा चितवनमा पूर्वप्रधानमन्त्रीदेखि वर्तमान सरकारका मन्त्री र पूर्वमन्त्री प्रतिस्पर्धामा छन् । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा प्रतिस्पर्धा गर्नेमा पाँचजना पूर्वसांसद नै छन् । त्यसैले चितवनको चुनाबी माहोल निकै तातेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट उम्मेदवार भएका छन् । त्यसैले यहाँको चुनावी चर्चा जिल्ला र देशभित्र मात्रै सीमित छैन । देशबाहिर रहेका नेपालीले पनि निकै उत्सुकताका साथ चितवनको चुनावी अवस्थाबारेमा चासो दिने गरेका छन् । दलहरु प्रचारमा जुटिसकेका छन्, मतदाताको मन जित्ने कोसिसमा छन् । जिल्लामा कसको अवस्था के छ भन्नेबारेमा विभिन्न खाले चर्चा सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा विभिन्न दलका उम्मेदवारले पाएको मतका आधारमा हेर्दा चितवनमा वामपन्थी गठबन्धन बलियो देखिन्छ । सात स्थानीय तह रहेको चितवनमा एमालेले चारवटा नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको छ । कांग्रेसले एउटा गाउँपालिकामा प्रमुख, उपप्रमुख र भरतपुर महानगरमा उपमेयर जितेको छ । माओवादीले भरतपुर  र माडीमा मेयर जितेको छ ।
स्थानीय निर्वाचनले चितवनमा एमालेलाई बलियो देखाएको छ । माओवादीसँग तालमेल गरेर वामपन्थी गठबन्धन बनाएका कारण चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसलाई अप्ठ्यारो पर्ने आकलन नगरिएको हैन । तर कांग्रेस नेता चितवनमा स्थानीय तहको भन्दा फरक नतिजा आउने बताउँछन् ।
स्थानीय तह निर्वाचनमा अन्तिम समयमा माओवादी र कांग्रेसबीच भरतपुर महानगरमा चुनावी तालमेल भएको थियो । कांग्रेसका धेरैजसो नेता भरतपुर महानगरमै सक्रिय भए, अन्यत्र ध्यान दिन पाएनन् । त्यो बेला पार्टीभित्र तीव्र असन्तुष्टि थियो । तर यो चुनावमा कांग्रेसभित्र असन्तुष्टिको स्वर सार्वजनिक भएको छैन । राप्रपा प्रजातान्त्रिकसँग तालमेलपछि तीनवटै क्षेत्रमा वामपन्थीविरुद्ध बलिया उम्मेदवार मैदनामा छन् ।    त्यसैले चितवनमा कांग्रेस अहिले निकै व्यवस्थित रुपमा चुनावी अभियानमा लागेको छ । स्थानीय तह निर्वाचनको चुनावी परिणामले मात्रै यो चुनावमा जितहारको निक्र्योल नहुने दलहरु नै स्वीकार गर्छन् । उम्मेदवारी दर्ता गर्नुभन्दा अघिल्लो दिन आएका माओवादी अध्यक्ष दाहाल चितवनमा पाँच दिन बसेर राजधानी फर्केका छन् । अन्य उम्मेदवारको सक्रियता पनि त्यही अनुरुपको छ ।
स्थानीय तहमा पाएको मतलाई आधार मान्दा चितवनको एक र दुई नम्बर क्षेत्रमा एमाले अगाडि छ । तीन नम्बर क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ । तर एमाले र माओवादीको मत जोड्दा यहाँ पनि कांग्रेस पछाडि पर्छ । तीन नम्बरमा कांग्रेस र राप्रपाको समेत मत जोड्दा पनि वामपन्थी गठबन्धन लगभग आठ हजार मतले अगाडि छ ।
चितवनमा हरेक निर्वाचनमा फरक खालको नतिजा आउने परम्परा नै छ । यसका साथै स्थानीय तहको निर्वाचनपछि चितवनमा ४१ हजार नयाँ मतदाता थपिएका छन् । चितवन जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालका अनुसार यो पटक जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन् । स्थानीय तह निर्वाचन हुँदा जिल्लामा तीन लाख १३ हजार दुई मतदाता थिए ।
हरेक निर्वाचन क्षेत्रमा लगभग आठ हजारदेखि साढे १९ हजारसम्म नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाताको मुडले आगामी निर्वाचनमा उम्मेदवारको जितहार तय हुने अवस्था छ । त्यसैले न अघिल्लो चुनावमा धेरै मत पाएकाहरु ढुक्क छन् न स्थानीय तहको मतमा वामपन्थी अगाडि रहेको भन्दै कांग्रेस बढी चिन्तित देखिन्छ ।

क्षेत्र नं. १ : बलियो हुँदै कांग्रेस
    चितवनका क्षेत्र नं. १ लाई एमालेको सुरक्षित क्षेत्रको रुपमा हेरिन्छ । ४८ सालयता भएका चुनावमा एकपटक बाहेक सो क्षेत्रमा एमालेका उम्मेदवारले नै जित्दै आएका छन् । ५६ सालमा भएको संसदीय चुनावमा एमाले पार्टी विभाजित भएको थियो । एमाले फुटेर गठन भएको माले पनि चुनावी प्रतिस्पर्धामा आएका कारण त्यस बेला एमालेले सो क्षेत्र गुमाएको थियो ।
    चितवन क्षेत्र नं. १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्छन् । सो क्षेत्रको कुल मतदाता संख्या एक लाख १९ हजार ९ सय ९८ हो । तीनवटै नगरपालिकामा एमालेले मेयर, उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको छ । यी तीन नगरमा कुल ४२ वडा रहेकोमा एमालेले २८ र कांग्रेसले १४ वटा वडा जितेका छन् ।
निर्वाचन आयोगले दिएको विवरणमा उल्लेख वडाध्यक्षको मत परिणामलाई आधार मान्दा एमालेले यी तीन नगरमा कुल ३५ हजार ५ सय ९२ मत ल्याएको छ । कांग्रेसको २९ हजार ३ सय ६६ मत छ । राप्रपाको मत दुई हजार ७ सय ५० छ । कांग्रेस राप्रपाको कुल मतभन्दा पनि एमालेको मत धेरै छ । यो क्षेत्रमा माओवादीका वडाध्यक्षले पाएको कुल मत १० हजार १ सय ६६ छ ।
वडाध्यक्षले पाएको मत जोड्दा वामपन्थी गठबन्धनमा ४५ हजार ७ सय ५८ र कांग्रेस–राप्रपाको मत ३२ हजार १ सय १६ छ । वामपन्थी गठबन्धन अर्को गठबन्धनभन्दा १३ हजार ६ सय ४२ मतले अगाडि छ । तर पछिल्लो समय कांग्रेसले मताधार फराकिलो बनाउँदै लगेका कारण एमाले ढुक्क हुन सकेको छैन ।
नगरपालिकामध्ये राप्तीबाहेक खैरहनी र रत्ननगरमा एमाले र कांग्रेसको मत बराबरजस्तो देखिन्छ । रत्ननगर नगरपालिका पहिला चितवन क्षेत्र नं. २ मा थियो, यो पटक मात्रै एकमा मिसिएको हो । तत्कालीन क्षेत्र नं. २ मा गएको संविधानसभा निर्वाचनमा कांग्रेस विजयी भएको थियो । यो क्षेत्रमा १३ हजार ५ सय ८३ मतदाता नयाँ छन् । उनीहरुलाई आफूतर्फ तान्न दलबीच प्रतिस्पर्धा छ ।
यो क्षेत्रमा वामपन्थी गठबन्धनबाट एमालेका उम्मेदवार पूर्वअर्थमन्त्री तथा सोही क्षेत्रबाट ०७० सालको संविधानसभा सदस्यमा विजयी भएका सुरेन्द्र पाण्डे छन् । प्रदेशसभाका लागि पनि दुईवटै क्षेत्रमा एमालेका उम्मेदवार दावा लामा र कृष्ण खनाल छन् । प्रतिनिधिसभामा कांग्रेसले राजेन्द्र बुर्लाकोटीलाई उठाएको छ । प्रदेशसभामा कांग्रेसका धनबहादुर गुरुङ र उत्तम आचार्य उम्मेदवार छन् ।

क्षेत्र नं. २ : नयाँ मतदाता निर्णायक
यो क्षेत्रमा भरतपुर महानगरका २९ मध्ये १० वटा वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । गएको स्थानीय तह चुनावमा कालिका नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । इच्छाकामना गाउँपालिकामा प्रमुख, उपप्रमुख कांग्रेसले जितेको छ ।
    भरतपुरका १० वडामध्ये आठवटा एमाले र दुईवटा कांग्रेसले जितेका छन् । क्षेत्र नं. २ मा रहेका स्थानीय तहका वडामा वडाध्यक्षले पाएको कुल मत जोड्दा एमालेले पाएको मत २७ हजार ६ सय ३८ हुन्छ । कांग्रेसको मत २४ हजार ७ सय ५५ छ । माओवादीको मत ११ हजार ३ सय ३२ छ । राप्रपाको एक हजार ५ सय ७४ मत छ । वामपन्थी गठबन्धनको कुल मत ३८ हजार ९ सय ७० पुग्छ भने कांग्रेस–राप्रपाको मत  २६ हजार ३ सय २९ पुग्छ । वामपन्थी गठबन्धन १२ हजार ६ सय ४१ मतले अगाडि छ । तर यो क्षेत्रमा स्थानीय तह निर्वाचनपछि १९ हजार ५ सय ६० नयाँ मतदाता थपिएका छन् । इच्छाकामना र कालिका नगर क्षेत्रमा कांग्रेस बलियो नै मानिन्छ । भरतपुरको नगर क्षेत्रका मतदाता उम्मेदवार हेरेर मत दिने खालका छन् । त्यसैले यहाँ कांग्रेसले जितको आशा गरेको छ । त्यसमाथि यो क्षेत्र एमाले वा माओवादी कसले पाउने भन्ने विवादले ग्रस्त भएको क्षेत्र हो ।
माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा उठ्न खोजे पनि अन्तिममा यहाँ एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले टिकट पाएका थिए । वामपन्थी कार्यकर्ता पोखरेल र थापाको पक्षविपक्षमा विभाजित भएका थिए । पोखरेल ७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन क्षेत्र नं. ३ बाट विजयी व्यक्ति हुन् ।
यसैगरी बाम गठबन्धनको तर्फबाट यो क्षेत्रको प्रदेशसभा (क) मा माओवादीका घनश्याम दाहाल र (ख) मा विजय सुवेदी उम्मेदवार छन् ।  कांग्रेसले चितवन क्षेत्र नं. २ मा गत संविधानससभा निर्वाचनमा साबिक चितवन क्षेत्र नं. २ बाटै विजयी शेषनाथ अधिकारीलाई उठाएको छ । प्रदेशसभामा कांग्रेसबाट (क) मा पार्टीका जिल्ला सभापति जितनारायण श्रेष्ठ र (ख) मा प्रकाश अधिकारी उम्मेदवार छन् ।   

क्षेत्र नं. ३ : रोचक प्रतिस्पर्धा
    चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार छन् । चितवनका अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा माओवादी केन्द्रको मत बढी छ तर यो क्षेत्रमा नेपाली कांग्रेस बलियो छ । अर्को रोचक कुरा, प्रतिनिधिसभामा यो क्षेत्रमा कांग्रेसको उम्मेदवार छैन । लोकतान्त्रिक गठबन्धनका रुपमा यो क्षेत्रमा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई समर्थन गरेको छ ।
    ५६ सालको संसदीय निर्वाचनदेखि नै सो क्षेत्रमा उठ्दै आएका पाण्डेले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नं. ५ बाट चुनाव जितेका थिए । उनी अहिले वनमन्त्री पनि छन् । यो क्षेत्रमा पाण्डे लोकप्रिय व्यक्ति हुन् । जिल्लामा अन्यत्र खासै संगठन र राम्रो मत नभएको राप्रपाको यो क्षेत्रमा चुनाबै जित्ने मत पाण्डे आफ्नै प्रयासले बनाएका हुन् ।
    चितवन क्षेत्र नं. ३ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वटा वडाहरु वडा तथा माडी नगरपालिका पर्छन् । भरतपुरमा माओवादीले स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेर मेयर जितेको थियो । अहिले एमालेसँग तालमेल छ । वडाहरुमा तालमेल थिएन । तर भरतपुरका तीनवटा वडा माओवादीले जितेको छ ।
    माडीमा पनि माओवादीले मेयर नै जितेको छ । यो क्षेत्रमा राप्रपा पनि बलियो छ । पाँच निर्वाचन क्षेत्र हुँदा यसअघिको संविधानसभा सदस्य निर्वाचनमा चितवनको साबिकको क्षेत्र नं. ५ मा राप्रपा विजयी भएको थियो, जुन क्षेत्र अहिले क्षेत्र नं. ३ अन्तर्गत पर्छ । क्षेत्र नं. ३ मा रहेका स्थानीय निकायका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत गन्दा सबैभन्दा धेरै कांग्रेसको छ ।
कांग्रेसका वडाध्यक्षले पाएको कुल मत २६ हजार ९ सय २३ छ । एमाले कांग्रेसको पछिपछि छ । उसले २५ हजार ७ सय ४७ मत पाएको छ । माओवादीका वडाध्यक्षले पाएको कुल मत १८ हजार १ सय ४ छ । राप्रपाले पाएको मत आठ हजार ३ सय ४३ हो । वामपन्थी गठबन्धनको मत जोड्दा ४३ हजार ८ सय ५१ हुन्छ । कांग्रेस र राप्रपाको कुल मत ३५ हजार २ सय ६६ पुग्छ । वामपन्थी गठबन्धन आठ हजार ५ सय ७४ मतले अगाडि छ । तर बलियो कांग्रेसको साथ पाएर उठेका पाण्डेलाई कसैले पनि कमजोर ठानेको छैन । प्रतिनिधिसभा सदस्यका लागि दाहाल र पाण्डेबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा प्रदेश सभा सदस्यका लागि वाम गठबन्धनले (क) मा एमालेका कृष्ण भुर्तेल र (ख) मा रामलाल महतोलाई उठाएको छ । प्रतिनिधिसभाका लागि उम्मेदवार नभएको कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यमा दिनेश कोइराला र साजन महतो मैदानमा छन् ।
निर्वाचन कार्यालयबाट प्राप्त विवरणअनुसार चितवन क्षेत्र नं. ३ मा कुल मतदाता संख्या एक लाख २५ हजार ८ सय २३ छ । स्थानीय निर्वाचनपछि यो क्षेत्रमा सात हजार ८ सय ९१ मतदाता थपिएका छन् । पहिला ३ सय ७६ मतदान केन्द्र रहेको चितवनमा अहिले १ सय ६१ ठाउँमा ४ सय ८ केन्द्र छन् । तीमध्ये ५२ वटा अति संवेदनशील र १ सय ९ वटा संवेदनशील रहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले जानकारी दिए ।

प्रकाशित: २५ कार्तिक २०७४ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App